सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ भने १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । आर्थिक वृद्धिदर साढे ६ प्रतिशत राखेको छ । नर्मल अवस्थामा भए यो लक्ष्य पुग्न पनि सक्थ्यो होला । तर, अवस्था सहज छैन । हामी विषम परिस्थितिमा छौं ।
अर्थतन्त्र थलिएको अवस्थामा छ । पर्यटन क्षेत्र ठप्प छ । एक डेढ प्रतिशतभन्दा बढी पर्यटन क्षेत्र सञ्चालन हुन सकिरहेको छैन । अहिलेको अवस्थामा कार्यान्वनको पाटो एकदमै कठिन छ ।
चालु वर्षमै पनि सरकारले बजेटको आकार र राजस्व संकलन लक्ष्य पुग्न सक्ने देखिदैन । अहिले हामी महामारीमै छौं । यस्तो अवस्थामा सरकारले राखेको राजस्वको लक्ष्य भेटाउन एकदमै गाह्रो छ । यसैगरी बजेटमा राजस्वबाट अपुग ५ खर्ब भन्दा बढी रकम आन्तरिक र बाह्य ऋण उठाउने लक्ष्य लिएको छ । त्यो अहिलेको अवस्थामा त्यति सम्भव देखिदँैन ।
हुनत चेम्बरले दिएको सुझावहरू बजेटले सम्बोधन गरेको छ । कोभिड प्रभावितलाई हामीले स्टिमुलेशन प्याकेज हुनु पर्छ भनेर माग राखेका थियौ । त्यो सम्बोधन भएको छ । बिचौलीय हटाउने कुरा थियो । कर्जा र ब्याजको पुनरतालिकीकरणका विषय थिए ।
सरकारले ल्याएको बजेट अनुसार स्थिर सरकार भएको भए राम्रै हुन्थ्यो । चुनावी सरकारले बजेट लिएका प्राथमिकता र सिद्धान्त पुरा हुन सक्छ कि सक्दैन भन्ने हो । रोग नियन्त्रणमा सरकारको प्राथमिकता हुनुपर्ने हो । आम नागरिकलाई खोपको व्यवस्था गर्नुपर्ने हो । अर्थतन्त्र र रोग नियन्त्रणलाईसँगसँगै लैजानु पर्ने हो ।


