काठमाडौं । चन्दागिरि नगरपालिकामा घरजग्गा भएका व्यक्तिले ७ दिनभित्र आफ्नो जग्गाको प्रयोजन खुलाउनुपर्ने भएको छ । नगरपालिका अन्तर्गतका सबै वडाले आइतबार सूचना जारी गर्दै उक्त अवधिभित्र वडा क्षेत्रभित्र रहेका जग्गाहरु कुन प्रयोजनको लागि प्रयोग गर्ने हो खुलाउन आग्रह गरेको हो ।
सम्बन्धित वडाध्यक्षहरुले जारी गरेको सूचनामा जग्गाधनीले सो अवधिभित्र प्रयोजन नखुलाए वडाले आफैं निर्धारण गरिदिने उल्लेख गरिएको छ । यस्तो अवस्थामा वडाले गरेको निर्धारण पालना गर्नुपर्ने समेत जनाइएको छ ।
१ हप्ताभित्र स्वघोषणा नगरे के हुन्छ ?
नगरपालिकाले सूचना जारी गर्दै एक हप्ताभित्र आफ्नो जग्गाको स्वघोषणा गर्न र नगरे आफैं घोषणा गरिदिने बताए पनि आफैं घोषणा गर्दा कस्तो मापदण्ड प्रयोग गर्छ भन्नेबारे केही उल्लेख गरेको छैन । तर, त्यसरी घोषणा गर्न नआउने निजी जग्गाका हकमा सबैलाई गैरकृषि जग्गाको रुपमा घाेषणा गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका मेयर घनश्याम गिरीले घोषणा भएका बाहेक सबै जग्गालाई गैरकृषि जग्गा मान्ने तयारी गरिएको बताए । 'हाम्रो नगरपािलका क्षेत्रभित्र सबैजसो जग्गाहरु आवासीय, अाैद्योगिक र व्यवसायिक प्रयोजनकै लागि प्रयोग हुने गरेको छ, यो भनेको गैरकृषि प्रयोजन हो । त्यसैले सार्वजनिक जग्गा र सम्पदाहरु बाहेक निजी जग्गाहरु सबै गैरकृषिजन्य घोषणा हुन्छ,' मेयर गिरीले भने, 'कसैले कृषि प्रयोजनको लागि भनेर खुलाउन चाहनुहुन्छ भने स्वघोषणा आउन सक्नुहुन्छ । नत्र सबै गैरकृषिजन्य घोषणा हुन्छ ।'
भुउपयोगसम्बन्धी ऐन र नियमावलीले प्रत्येक जग्गालाई कृषि, आवासीय, औद्योगिक र व्यवसायिकमध्ये एकमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । जग्गा वर्गीकरणबिना किनबेच र कित्ताकाट समेत रोक लगाएको छ । शहरी क्षेत्रमा कृषियोग्य जग्गा भए पनि आवासीय तथा व्यवसायिक प्रयोजनमा प्रयोग हुने गरेको छ ।


