काठमाडौं । काठमाडौं महानगरपालिकाको आजको कार्यपालिका बैठक एउटा पनि कार्ययोजना पास नभइ सकिएको छ । कार्यपालिका सदस्यहरुले फोहोर व्यवस्थापनको विषय उठाएर अन्य एजेन्डामा प्रवेश गर्न नमानेपछि एजेन्डा पास हुन नसकेको हो ।
बैठकमा काठमाडौंको ‘कोर एरिया’का वडाध्यक्षहरुले गाइजात्राका लागि आजै फोहोर उठाउनुपर्ने भन्दै एकल एजेन्डामा छलफल गर्न माग गरेका थिए । छलफलमा सहभागीहरुले मेयरमा बालेन्द्र आएको ७० दिनमा पनि फोहोर उठ्न नसकेको भन्दै प्रश्न गरेका थिए ।
बालेनले भने सिडोलको बाटोका कारण फोहोर फाल्न नसकेको भन्दै प्रष्टीकरण दिएका थिए । बैठकमा वडाध्यक्षहरुले फोहोर उठाएर सिंहदरबार, टुँडिखेलमा राख्न सुझाव दिएका थिए भने कसैले बाग्मतीमा फाल्न सुझाव दिएका थिए ।