काठमाडौं । छ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट इकाइधनीहरुलाई लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी फण्ड, एनएमबि फिफ्टी, एनएमबि हाइब्रिड फण्ड एल १, सिद्धार्थ ईक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश घोषणा गरेका हुन् ।
यसरी लाभांश दिने कम्पनीमध्ये ५ वटाले लाभांश घटाएका छन् । शेयर बजारमा आएको गिरावटसँगै म्युचुअल फण्डहरुको प्रतिइकाइ खुद मूल्य (एनएभी) घटेकोले ती फण्डहरुले लाभांश घटाएका हुन् । एनएमबि हाइब्रिड फण्ड एल १ ले भने एनएभी घटे पनि अघिल्लो वर्षभन्दा बढी लाभांश दिने घोषणा गरेको छ ।
कुन म्युचुअल फण्डले कति दिए ?
यो वर्ष लक्ष्मी उन्नति कोषले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । शेयर बजार बढ्दा अघिल्लो वर्ष एनएभीमा ४९ प्रतिशत भन्दा धेरै वृद्धि गरेको कोषले इकाइधनीहरुलाई ३५ प्रतिशत लाभांश दिएको थियो । यो वर्ष बजार घटेर २९ प्रतिशतको गिरावट आएसँगै कोषले लाभांश समेत घटाएको हो ।
लक्ष्मी इक्टिी फण्डले २०७९ असार मसान्तसम्ममा सो योजनाले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष यो कोषको लाभांश २५ प्रतिशत रहेको थियो । अघिल्लो वर्ष सो फण्डले ५६ प्रतिशत मूल्य बढाउँदा यो वर्ष ३७ प्रतिशतले मूल्य गुमाएको छ ।
यस्तै, अघिल्लो वर्ष ३० प्रतिशत लाभांश दिएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ यो वर्ष यस्तो लाभांशलाई १० प्रतिशतमा सीमित गरेको छ । यो फण्डले अघिल्लो वर्ष ६५ प्रतिशत मूल्य अभिवृद्धि गर्दा यो वर्ष ३८ प्रतिशतले मूल्य गुमाएको छ ।
सिद्धार्थ क्यापिटलकै अर्को सिद्धार्थ इक्विटी फण्डले यो वर्ष इकाइधनीहरुलाई ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जबकी अघिल्लो वर्ष सो फण्डको लाभांश ३० प्रतिशत लाभांश दिएको थियो । अघिल्लो वर्ष ७१ प्रतिशत मूल्य कमाएको फण्डले यो वर्ष ४० प्रतिशत मूल्य गुमाएको थियो ।
एनएमबि म्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई फण्डको लाभांश भने यो वर्ष पनि तुलनात्मक रुपमा उच्च छ । उच्च नाफाको बाबजुद अघिल्लो वर्ष सीमित मात्रै नाफा दिएका ती फण्डहरुले बजार घटेको वर्ष समेत उच्च लाभांशलाई निरन्तरता दिएका हुन् ।
एनएमबि–५० ले २०७९ यो वर्ष २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । अघिल्लो वर्ष सो फण्डले ३० प्रतिशत लाभांश दिएको थियो । अघिल्लो वर्ष एनएभीमा ८५ प्रतिशतको वृद्धि हासिल गरेको सो फण्डले यो वर्ष ३७ प्रतिशत मूल्य गुमाएको छ । एनएभीमा उच्च गिरावटका बाबजुद अघिल्लो वर्षको प्रगतिको आधारमा फण्डले उच्च लाभांश दिएको हो ।
त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल–१ ले पनि यो वर्ष २१.०५ प्रतिशत लाभांश दिने जनाएको छ । यसले अघिल्लो वर्ष २० प्रतिशत मात्रै लाभांश दिएको थियो । अघिल्लो वर्ष यो फण्डको एनएभी ५४ प्रतिशतले बढ्दा यो वर्ष २६ प्रतिशतले घटेको छ ।
सम्पत्ति बेचेरै लाभांश खुवाउनुपर्ने बाध्यता
सामान्यतया बजारमा गरेकाे सकारात्मक पर्फर्मेन्सले भएको नाफाबाट फण्डहरुले लाभांश खुवाउनुपर्ने हो । तर, बजारको उच्च गिरावटसँगै फण्डहरु गुमेको एनएभीबाट थप सम्पत्ति बेचेर लाभांश खुवाउनुपर्ने अवस्थामा छन् । म्युचुअल फण्डहरुको मुख्य काम नै पुँजी बजारमा लगानी गर्ने भएकोले पुँजी बजारको गिरावटको असर फण्डहरुको पर्फर्मेन्समा देखिएको हो ।
२०७७ असार मसात्तको तुलनामा २०७८ असार मसान्तमा शेयर बजार परिसूचक १३९४.७७ बाट बढेर २८८३.३७ मा पुगेको थियो । यो झण्डै १०६ प्रतिशतको वृद्धि हो । तर, २०७८ असार मसान्तदेखि २०७९ असारसम्म आइपुग्दा भने समग्र बजारले ३० प्रतिशत मूल्य गुमाएको छ ।
म्युचुअल फण्डमा लगानी गर्नेहरुले नियमित लाभांशको अपेक्षा गर्ने भएकोले यी फण्डहरुले पुरानो सम्पत्ति बेचेरै भए पनि इकाइधनीहरुलाई लाभांश खुवाउन खोजेका हुन् ।


विविका तिमल्सिना
