images
images

एनआईसी एसिया लघुवित्तको वित्तीय विवरणमा भ्रम : नबुझ्नेलाई अलमल, बुझ्नेहरु धमाधम बाहिरिँदै 


  • 952
    SHARES
  • २०७८ बैशाख ११ गते शनिबार

    एनआईसी एसिया लघुवित्तको वित्तीय विवरणमा भ्रम : नबुझ्नेलाई अलमल, बुझ्नेहरु धमाधम बाहिरिँदै 

    काठमाडौं । १ अर्ब ७३ करोड चुक्ता पुँजीसहित देशको ठुलो लघुवित्त वित्तीय संस्था बनेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरमा पछिल्ला दिनहरुमा निकै चलखेल भएको छ । आईपीओ जारी गर्दाको समयमा हरेक आवेदकलाई १० कित्ता र भाग्यमानी केही आवेदकलाई २० कित्ताका दरमा शेयर हात पार्न सफल रहेको सो कम्पनीको शेयरमा पछिल्लो बजारमा चलखेल भएको हो ।

    आईपीओ जारी भई नेप्सेमा केही समय कारोबारसमेत भएको सो लघुवित्तको शेयर कारोबार स्वदेशी लघुवित्तसँगको मर्जरका कारण लामो समयदेखि रोक्का रहेको थियो भने गत चैत ८ बाट ती दुई लघुवित्त कम्पनीहरुको एकीकृत कारोबार सम्पन्न भईसकेपश्चात् केही दिनपछि कारोबारसमेत खुलेको थियो । 

    एनआईसी एसिया लघुवित्त आफैँमा धेरै पुँजी कायम गरी सञ्चालनमा रहेको लघुवित्त संस्था हो । चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो लघुवित्त कम्पनीको चुक्ता पुँजी १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

    लामो समयदेखि सञ्चालनमा रहेको छिमेक लघुवित्त र निर्धन उत्थान लघुवित्तबाहेक अन्य सबै लघुवित्त कम्पनीको भन्दा बढी पुँजी सो लघुवित्त कम्पनीको रहेको थियो । चुक्ता पुँजी कायम रहनु, नयाँ संस्था हुनु र नियामक निकायबाट पुँजीवृद्धिको कुनै दबाब नआउनुजस्ता कारणले सो लघुवित्तलाई चुक्ता पुँजी वृद्धि गर्नका लागि कुनै संस्थासँग मर्जमा जानु आवश्यक थिएन भन्ने स्पष्ट हुन्छ ।

    वित्तीय विवरणमा भ्रम

    केही दिनअघिमात्रै एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक ग¥यो । सो कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा कुनै त्रुटी नभएतापनि त्यसले लगानीकर्ताहरुमा भने राम्रै भ्रम छर्न सफल भयो ।

    केही प्रायोजित समाचारहरुमा सो कम्पनीको शेयरलाई नीलो हिरा भनियो त केहीमा २४७ प्रतिशतको नाफा वृद्धिको चर्चा गरियो तर जे वास्तविकता हो, त्यसलाई चर्चामा ल्याइएन । 

    के हो वास्तविकता ?

    चालु आवको तेस्रो त्रैमासमा आएको एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण साविकको स्वदेशी लघुवित्त सहितको एकीकृत वित्तीय विवरण हो । चालु आवको दोस्रो त्रैमाससम्म यी दुई संस्थाहरुले छुट्टाछुट्टै वित्तीय विवरण प्रकाशन गरेका थिए भने तेस्रो त्रैमासमा एकीकृत विवरण पस्किएको हो । 

    दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार साविकको एनआईसी एसिया लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४८ करोड थियो भने जगेडा कोषमा ४३ करोड रहेको थियो । सो कम्पनीको खुद नाफा १५ करोड ९७ लाख रहेको थियो । यस्तै सोही अवधिमा स्वदेशी लघुवित्तको चुक्ता पुँजी २७ करोड ६० लाख, जगेडा कोषमा २१ करोड ४५ लाख र खुद नाफा १२ करोड २ लाख रहेको थियो ।

    सो त्रैमासमा दुई लघुवित्त कम्पनीको मिलाएर हेर्ने हो भने चुक्ता पुँजी १ अर्ब ७५ करोड, जगेडा कोषमा करिब ६५ करोड रहेको देखिन्छ भने खुद नाफा करिब २८ करोड रहेको देखिन्छ । दोस्रो त्रैमासमा स्वदेशी लघुवित्तले ८७ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको आकर्षक वित्तीय विवरण पस्किएको थियो । 

    चालु आवको दोस्रो र तेस्रो त्रैमासको अन्तरलाई हेर्ने हो भने सो लघुवित्त कम्पनी(साविकका स्वदेशी र एनआईसीसमेत)ले पछिल्लो ३ महिनाको अवधिमा १४ करोड ७२ लाख रुपैयाँ मात्र कमाएको देखिन्छ । गत आवको सोही अवधिमा ती दुई कम्पनीको नाफा १७ करोडभन्दा बढी रहेको पाइन्छ, त्यसको विश्लेषण गर्न नसक्ने लगानीकर्ताहरुमा यसप्रकारको भ्रम पर्न गएको देखिन्छ । 

    मूल्य कति उचित

    नेपाली शेयर बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य सधैँ उच्च रहेको पाइन्छ । प्रायसः त्यस्ता कम्पनीहरुको चुक्ता पुँजी निकै कम रहेकाले शेयरको कर्ननिङको सम्भावना एवं बोनस शेयरको आशामा त्यस्ता कम्पनीहरुको शेयरमूल्य बढी रहने गरेको हो तर त्यही मेसोमा लघुवित्त कम्पनीको ट्याग लागेकै कारण अर्बभन्दा बढी चुक्ता पुँजी रहेका एवं उचित कमाई नभएका लघुवित्त कम्पनीहरुको शेयरमूल्य पनि उच्च रहने गरेको हो ।

    हाल नेपालमा सञ्चालित ठुला र राम्रा लघुवित्त कम्पनीका रुपमा चर्चा पाउने गरेका लघुवित्त कम्पनीहरुमा छिमेक, डिप्रोक्स, निर्धन, साना किसान, आरएमडिसीजस्ता लघुवित्त कम्पनीहरु रहेका छन् । १ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको भएतापनि लामो समयदेखि आकर्षक कमाई र प्रतिफल दिँदै आएकाले यी कम्पनीहरुको मूल्य उच्च रहेको हो ।

    पछिल्लो विवरणअनुसार छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ६७ रुपैयाँ रहेको छ भने डिप्रोक्सको ६४ रुपैयाँ रहेको छ । पछिल्लो बजारमा छिमेक लघुवित्तको बजारमूल्य १७५० रुपैयाँ रहेको छ भने डिप्रोक्सको १७६३ रहेको छ । तसर्थ लगानीकर्ताहरुले कुनै कम्पनीको शेयर खरिदका क्रममा ग्रुपको ट्याग नभई कम्पनीको वित्तीय अवस्था र भविष्यको सम्भावनाको खोजी गर्नु उचित हुने देखिन्छ । 

    नबुझ्नेलाई अलमल, बुझ्नेहरु धमाधम बाहिरिँदै 

    एनआईसी एसिया लघुवित्त कम्पनीको शेयरमूल्य प्रतिशेयर उच्चतम २०३७ रुपैयाँसम्म पुगेर पछिल्लो बजारमा १८३७ रुपैयाँ कायम भएको छ । विगतको कारोबारको संख्या र अवस्थालाई हेर्दा ठुला लगानीकर्ताहरुले सो कम्पनीको शेयरमूल्यमा निकै चलखेल गरेको पाइन्छ ।

    बिहीबारको बजारमा न्यूनतम १७६४ सम्ममा आएको सो कम्पनीको शेयरलाई कम्पनीको वित्तीय विवरणको चर्चाकै कारण बढाउन सफल भएको थियो । वित्तीय विवरण एवं बजारमा हुने चलखेललाई बुझ्ने लगानीकर्ताहरुले उच्च बजार मूल्यमा शेयर बिक्री गरी प्रतिफलको उच्च ग्यारेन्टी भएका कम्पनीतिर आकर्षित भईसकेका पाइन्छ भने प्रायोजित समाचारमा रुमलिने लगानीकर्ताहरुमा भने अझै अलमल रहेको पाइन्छ ।

     


    images

    Logo