काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशलाई चुनौती दिँदै प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । आज बसेको प्रतिनिधिसभामा पुनः पेश भएको उक्त विधेयक बहुमतले पारित भएको हो । विधेयक उपर गरिएको मत विभाजनमा विधेयक पारित गर्ने पक्षमा १३५ सांसद उभिए भने विपक्षमा ६० सांसदले मत दिए ।
प्रतिनिधिसभाबाट पारित भएपछि अव यो विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाबाट पारित भएर आएपछि सभामुखले प्रमाणित गरी पुनः राष्ट्रपतिकहाँ पठाउनेछन् । पुनः पारित भएर गएको विधेयकलाई भने राष्ट्रपतिले १५ दिनभित्र अनिवार्य रुपमा प्रमाणित गर्नु पर्नेछ ।
राष्ट्रपतिले दिएको सन्देशलाई सत्तारुढ दलहरुले सरकारविरुद्धको कदमको रुपमा लिँदै विधेयकलाई जस्ताको त्यस्तै पास गरेर राजनीतिक रुपमा राष्ट्रपतिलाई जवाफ दिने खोजेका छन् । खासगरी, विधेयकमा गरिएको वैवाहिक अंगिर्कत नागरिकतासम्बन्धी व्यवस्था बढी विवादित हुँदै आएको छ ।


