काठमाडौं । ब्लकचेन प्रविधिको डिजिटल करेन्सी हाइपर फण्डले ५ महिनादेखि भुक्तानी रोकेको छ । लगानी गरेको २ वर्षभित्रै ३ गुणासम्म भुक्तानी दिने भन्दै विश्वभरीबाट रकम जम्मा गरेको सो फण्डले गत अघिल्लो अप्रिलदेखि सम्पूर्ण भुक्तानी रोकेको हो ।
न्युजिल्याण्डमा दर्ता भएको भनिएकाे हाइपर फण्डले डिसेन्ट्रलाइज्ड फाइनान्स (डेफी) नामक डिजिटल करेन्सीको विकास गर्ने भन्दै विश्वभरबाट सदस्यता बनाएको थियो । यसका लागि ३००, ५०० र १००० इचयूसम्म खरिद गर्नुपर्ने व्यवस्था गरेको थियो । १ अमेरिकी डलर बरबर एक एचयूको दरमा उक्त करेन्सी बिक्री गरिँदै आएको थियो ।
यसरी सदस्यता लिनेहरुलाई लगानी गरेको रकम र अरु सदस्य बनाएको संख्याका आधारमा भुक्तानी गर्दै आएको थियो । यसरी सदस्यता बन्नेले किस्ताबन्दीमा २ वर्षभित्र २ देखि ३ गुणासम्म रकम फिर्ता पाउने जनाइएको थियो । युक्रेन रुसको युद्धसँगै विश्वव्यापी रुपमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएसँगै सदस्यहरुलाई भुक्तानी रोकेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिष्टो करेन्सी लगानीमा कडाइ गर्नुअघि नेपालबाट समेत अर्बौं रुपैयाँ बाहिरिएको अनुमान गरिएको छ । भुक्तानी रोकिएपछि ती सबै लगानी अन्यौलमा परेको छ ।


