काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण भयावह हुन थालेपछि अक्सिजन जोह गर्न पहल शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार अक्सिजनको सिलिन्डर जोह गर्ने तयारी थालेको हो । अक्सिजन उत्पादन गर्ने व्यवसायीहरूले अक्सिजनको सिलिन्डर किन्न गाह्रो भएको गुनासो मन्त्रालयमा पुर्याएपछि मन्त्रालयले सो कदम अघि सारेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अक्सिजनको अभाव हुन नदिन निजी क्षेत्रबाटै सिलिन्डर किन्नका लागि पहल स्वरुप अर्थ मन्त्रालयमा कर छुटको लागि पठाएको हो । ‘निजी क्षेत्रलाई अक्सिजन जोह आग्रह गर्नका लागि आयातमा लाग्दै आएको भन्सार छूट दिन अर्थमा प्रस्ताव पठाइएका छौं,’ उनले भने ‘ अर्थबाट सकारात्मक जवाफ आएको छ, निर्णय भएर आउने बित्तिकै निजी क्षेत्रले सिलिनडर आयात गर्नको लागि बाटो खुल्नेछ ।’
गत वर्ष पनि कोभिडको प्रकोप बढ्दै गएपछि माक्सको अभाव हुँदा त्यसरी नै माक्स सिलाउने मेशिन ल्याएर आईएमएस ग्रुपले नेपालमै माक्स उत्पादन शुरु गरेको थियो ।
अहिले पनि नेपालमा भएका अक्सिजन प्लाटहरूबाट अक्सिजन तयार गरेपनि सिलिनडर नहुने भएकाले सोको व्यवस्थापनको लागि मन्त्रालयले आयातमा भन्सार छुट सहितको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो ।
नेपालमा दुवै छिमेकी मुलुक भारत र चीनबाट अक्सिजनको सिलिन्डर आउने गरेको छ । अहिले यी दवै देशमा पनि कोभिड महामारीको प्रकोप बढ्दै गएकोले त्यताबाट सिलिन्डर ल्याउन सहज नभएको गुनासो व्यवसायीहरूले राख्दै आएका छन् ।
छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका छन् । त्यस्तो अवस्था आउन नदिन मन्त्रालयले सहजकता अपनाउन लागेको गौतमले बताए ।
अहिले नेपालभित्र करीब २ लाखको हाराहारीमा अक्सिजन सिलिन्डर रहेको अनुमान गरिएको छ । अन्य बेलामा अक्सिजनको माग त्यति नभएकाले व्यवसायीहरूले खर्चिलो प्यान्ट चलाएका थिएनन् । तर, अहिले माग बढेपनि सिलिन्डर अभावका कारण अक्सिजन उत्पादन भएपनि भर्न सकिने अवस्था छैन । त्यसैले हामीले सिलिन्डर आयातको लागि सरकारसँग सहजीकरणको बाटो खोजेका हौं,’ उनले भने ।


