काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सामाजिक सुरक्षा कोषविरुद्ध अदालत जाने तयारी गरेका छन् । आर्थिक वर्ष सकिनै लाग्दा कोषले बैंक तथा वित्तीय संस्थालाई आफूकहाँ सूचीकरण हुन तीव्र दवाव दिएको र बैंकहरुलाई पत्र लेखेर अनावश्यक रुपमा क्षतिपूर्ति भराउन दवाव दिन थालेको भन्दै उनीहरु अदालत जाने तयारी गरेका हुन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले आफू र अरु कर्मचारी संगठनहरुलाई समेत समेटेर अदालत जाने तयारी गरिरहेको संस्थाका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए ।
उनले अन्तराष्ट्रिय श्रम संगठनले व्यवस्था गरेको र नेपाल समेत पक्ष राष्ट्र भएको व्यवस्था कोषले वित्तीय क्षेत्रका कर्मचारीबाट खोस्न लागेको आरोप उनले लगाए । आईएलओ अभिसन्धीले श्रमिकको खाइपाई आएको सेवा सुविधा नघट्ने र सामूहिक सौदाबाजीलाई खुला राख्ने प्रष्ट व्यवस्था गरेको भन्दै यसको विपरित हुनेगरी कानून बन्नै नसक्ने बताए ।
केही दिनअघि फियनले सोही व्यहोराको विज्ञप्ती जारी गर्दै जबरजस्ती नरोकिए कोषविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
उता सामाजिक सुरक्षा कोषले भने कोषले दिने सेवा सुविधाबारे अनर्गल प्रचार भइरहेको भन्दै यस्तो प्रचारमा कुनै सत्यता नरहेको जनाएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै कोषले नियमावली संशोधनमार्फत् योगदानकर्ताका लागि विभिन्न योजनाहरु ल्याएको भन्दै तत्काल सामाजिक सुरक्षा कोषमा सहभागी भएर यसको लाभ दिन आग्रह समेत गरेको छ ।


