काठमाडौं । बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार भदौ २२ गते बैंकहरुकाे निक्षेप १२ अर्ब रुपैयाँले थपिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौ २० गते ५० खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप भदौ २२ गते १२ अर्ब रुपैयाँले बढेर ५० खर्ब ४७ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि २ दिनमा ११ अर्ब रुपैयाँले बढेको छ । भदौ २० गते ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो २२ गते सो रकम ११ अर्बले बढेर ४४ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। भदौ २० गते बैंक तथा वित्तीय संस्थाहरुमा ५ खर्ब ९८ अर्ब रुपैयाँ रहेको निक्षेप २२ गते ५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।
यसरी बैंकहरुको निक्षेप १२ अर्बले बढ्दा कर्जा लगानी भने ४ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ २० गते ४७ खर्ब १२ अर्ब रहेको निक्षेप २२ गते ४ अर्बले बढेर ४७ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ३ अर्बले बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने ५ खर्ब ३५ अर्ब रुपैयाँमा स्थिर नै रहेको छ ।
भदौ २२ गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८८.१३ प्रतिशतमा झरेको छ ।


