काठमाडौं । एलपी ग्यास उद्योग संघको विज्ञप्तीसँगै यतिबेला बजारमा ग्यास अभाव हुने आशंका फैलिएको छ । बजारमा आपूर्ति व्यवस्था असहज नभए पनि भविष्यमा हुनसक्ने भन्दै शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले सर्वसाधारणलाई खाली सिलिन्डर ग्यास भर्न आग्रह गरेको हो ।
एलपी ग्यास उद्योग संघले यस्तो आग्रह गरिरहँदा नेपाल आयल निगम भने बजारमा ग्यास अभावको कुनै सम्भावना नरहेको बताउँछ । निगगमले देशव्यापी लकडाउन भए पनि बजारमा ग्यासको अभाव नहुने प्रष्ट पारेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले लकडाउन भएपनि आम उपभोक्ताले ग्यास अभावको समस्या नआउने बताउँछन् । ‘ग्यास अभाव हुँदैन, ढुक्क हुुनहोस्,’ उनले भने ‘पछिल्लो २ महिना बजार मागभन्दा दोब्बर ग्यास आयात भएको छ ।’
हाल नेपाली बजारमा ग्यासको माग दैनिक १ लाख सिलिण्डर हो, पछिल्लो २ महिना दैनिक २ लाख सिलिन्डर ग्यास आयात भइरहेको छ ।’ उनले भने ‘अहिले प्रर्याप्त ग्यास छ, कुनै अप्ठ्यारो पर्दैन । गत वर्ष पनि लकडाउनको बेला हामीले ग्यासको कुनै अभाव हुन दिएनौं र अब पनि दिँदैनौं ।’
अहिले नेपालमा भएका सबै ग्यास प्लान्ट भरिभराउ रहेको उनको भनाइ छ । ‘भारतबाट अहिले पनि ग्यास आइरहेको छ । धेरै ग्यासका बुलेटहरू भन्सार जाँचपास भएर नेपाल भित्रिरहेका छन् भने केही भित्र्ने क्रममा रहेका छन्,’ कार्यकारी निर्देशक पौडेलले भने ।
संघले ग्यास सिलिन्डर भर्न आग्रह गरेपछि हिजो शनिबारदेखि ग्यासका विषयमा अनुगमन नै शुरु गरेको छ । हिजोमात्रै निगमका कार्यकारी निर्देशक पौडलले उपत्यकाको विभिन्न ठाउँमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले कतै पनि ग्यास पाइएन भनेर गुनासो नआएको र कतै ग्यासका लागि लाइन बसेका पनि नपाएको बताए ।
छिमेकी भारत लगायत नेपालमा कोरोनाको दोस्रो लहर बिकराल बन्दै गएपछि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान सर्वत्र गर्न थालिएको छ । नेपाल आयल निगमले पनि यो सम्भावित असरलाई मध्येनजर गर्दै ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमता अनुसार मौज्दात ग्यास राख्न उद्योगीलाई भनेको छ ।


