काठमाडाैं । वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हट्ने भएका छन् । काठमाडौं महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको छ तर फार्मेसी सञ्चालकले भने महानगरपालिकाले भने जस्तो २४ घण्टाभित्र औषधि पसल (फार्मेसी) हटाउन नसकिने बताएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रहरीप्रमुख राजु पाण्डेले भोलि (बिहीबार ) दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर हटाउने जानकारी दिए । ती औषधि पसल हटाएर वीरअस्पताललाई कुनै हानि नगर्ने भन्दै नक्साविपरीत रहेका औषधि पसल हटाएरै छाड्ने बताए । महानगर पालिकाका प्रहरीप्रमुख पाण्डेले बुधबार अपराह्न ३ बजे वीरअस्पताल परिसरमा गई औषधि पसल सञ्चालकलाई २४ घण्टाभित्र पसल हटाउन निर्देशन दिएका थिए ।
यसअघि पनि वीरअस् पतालले उक्त टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो । प्रहरीप्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्साविपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी गराए । ती फार्मेसीबाट अस् पतालले पनि मासिक लाखौँ आम्दानी गरिरहेको थियो । निर्देशक डा. बस्नेतले हाल औषधि पसल रहेको ठाउँमा नक्साअनुसार बगैँचा निर्माण गरिने जानकारी दिए । पाण्डेले यसअघि नै ३५ दिने सूचना जारी गरेकोभन्दै बुधबार पुनः २४ घण्टाभित्र औषधि पसल नहटाए डोजर चलाइने जानकारी फार्मेसी सञ्चालकहरूलाई दिएको बताए ।
फार्मेसी सञ्चालक नवराज खनालले महानगरपालिकाले कम समय दिएर पसल हटाउने अल्टिमेटम दिएको जानकारी दिए । उनले कम्तीमा १५ दिनको सूचना जारी गर्नुपर्ने बताए । उनले कतिपय औषधि फ्रिजमा रहेकाले फ्रिजमा भएको औषधि तत्काल खाली गर्न नमिल्ने बताए ।


