काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकार श्रेष्ठ नेतृत्वको एक वर्ष पूरा भएको छ । अघिल्लो असोज ६ गते कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका श्रेष्ठले बिहीबार आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गरेका हुन् । यो अवधिमा उनले मिर्गौला प्रत्यारोपणको आफ्नै पूरानो रेकर्ड तोडेका छन् ।
यो अवधिमा १ सय ८४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । त्यसमध्ये १ सय ८० जनाको केन्द्रबाट र ४ जनाको प्रदेशिक अस्पताल पोखराबाट प्रत्यारोपण सम्पन्न गरिएको केन्द्रले जनाएको छ । त्यसअघि डा. श्रेष्ठ नै कार्यकारी निर्देशक हुँदा केन्द्रले एक वर्षमा १ सय ७९ जनाको प्रत्यारोपणको रेकर्ड बनाएको थियो ।
मिर्गौंला प्रत्यारोपणबाहेक यो वर्षमा डाइलासिस, कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्युबाट हुने अंगदानको सन्दर्भमा पनि ठूलो उपलब्धि हासिल भएको केन्द्रले जनाएको छ । एक वर्षको अवधिमा ३ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । त्यस्तै, केन्द्रमा रहेको डाइलासिस मेसिनको संख्या ३५ बाट बढाएर ७२ पुर्याउँदा दैनिक १ सय ५० बिरामीको डाइलासिस गर्न सकिने अवस्थामा पुगेको केन्द्रले जनाएको छ ।
यो वर्ष मिर्गौंला दिवसको अवसरमा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले मृत्युपछि आफ्नो अंगदान गर्ने घोषणा गरेका छन् । यो घोषणालाई केन्द्रले एउटा महत्वपूर्ण उपलब्धिको रुपमा मानेको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको यस्तो घोषणाबाट सम्पूर्ण जनजमानसमा सकारात्मक सन्देश गएको केन्द्रले उल्लेख गरेको छ ।
यो वर्ष मस्तिष्क मृत्युपछि हुने अंगदानका लागि केन्द्रले ७ वटै प्रदेशमा प्रचार प्रसारलाई व्यापक बनाएको छ । सुर्खेत, धनगढी, पोखराका प्रादेशिक अस्पताल तथा राजधानीका विभिन्न अस्पतालहरुमा अंगदान र प्रत्यारोपण कार्यका बारेमा अन्तरक्रिया गरी जनचेतना जगाउने कार्य गरिएको छ । यही क्रममा मस्तिष्क मृत्यु भएका २ वटा मिर्गौला र १ वटा कलेजो प्रत्यारोपण भएको केन्द्रले जनाएको छ ।
अहिले विकास समिति ऐनअन्तर्गत रहेको केन्द्रलाई छुट्टै प्रतिष्ठानको रुपमा स्तारोन्नति गर्ने तयारी गरिएको छ । सरकारको नीति तथा कार्यक्रममै यस्तो घोषणा हुनु महत्वपूर्ण उपलब्धि रहेको भन्दै यसले केन्द्रमा उपचार मात्रै नभएर अध्ययन अध्यापन समेत भइ प्रत्यारोपणमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने केन्द्रले विश्वास गरेको छ । केन्द्रले भक्तपुरको दुधपाटीमा रहेको परिसर साँघुरो भएको महशुस गर्दै नयाँ स्थानमा जग्गा प्राप्तिको अन्तिम चरणमा पुर्याइएको जनाएको छ ।
मुटुको सेवातर्फ कार्डियोलोजी विभागले एक वर्षमा २०० भन्दा बढीको एन्जियोग्राम तथा एन्जियोप्लास्टी सम्पन्न गरेको छ । यो समेत इतिहासकै सबैभन्दा बढी रहेको केन्द्रले जनाएको छ । आगामी दिनमा कार्डियोलोजी विभागमा २० वटा बेड थप्ने तयारी गरिएको र यसो गर्न सक्दा भक्तपुर र यसका पूर्वी जिल्लाहरुबाट आउने मुटुका बिरामीलाई २४ सै घण्टा सेवा दिनसक्ने अवस्था बन्ने समेत केन्द्रले उल्लेख गरेको छ ।


