काठमाडौं । बढ्दो कोरोना भाइरस महामारीका कारण साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करिब तीन प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा झरेको हो । सेन्सेटिभ सूचक पनि १२.५६ अंकले घटेर ४६४.०५ विन्दुमा ओर्लिएको छ ।
कोरोनाको बढ्दो त्रास र लकडाउनको हल्लाले शेयर बजार पछिल्लो केहि दिन यता लगातार घट्दै आएको थियो । सोही क्रममा आज आइतबार कारोबारमा आएका प्राय कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
आइतबार २१५ वटा कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५ वटा कम्पनीकोमात्रै शेयरमूल्य बढेको छ ।
शेयर मूल्य बढ्ने कम्पनीहरूमा महिला लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, कालिका पावर कम्पनी, मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र गुडविल फाइनान्स रहेका छन् । उक्त अन्य कम्पनीको भने शेयर मूल्य ओर्लिएको छ ।


