काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल श्रीवास्तवले सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई कोषमा सहभागी हुन जबरजस्ती गर्न नसक्ने बताएका छन् ।
बिहीबार नेपाल बैंकर्स संघका प्रतिनिधिहरुसँगको छलफलमा श्रममन्त्री श्रीवास्तवले यस्तो आश्वासन दिँदै आफूले कोषमा अधिकारीहरुसँग यसबारे गम्भीर कुराकानी गर्ने बताएका छन् ।
‘तपाइँहरुलाई जबरजस्ती गर्न मिल्दैन । म सरकारी अधिकारीहरुसँग कुरा गर्छु । अहिले संसद छैन, आवश्यक परे संसद आएपछि कानून संशोधन गरौंला तर सुविधा घट्नेगरी जबरजस्ती गरिँदैन,’ मन्त्री श्रीवास्तवले बैंकर्ससँग भनेका थिए ।
श्रीवास्तवालाई भेट्न बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र बैंकर अनिलकेशरी शाह मन्त्रालय गएका थिए ।
कोषलर् बैंकरहरुलाई असारभित्रै कोषमा आउन दबाब दिएपछि बैंकरहरु मन्त्रालय पुगेका हुन् । यसअघि कर्मसारीले श्रममन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाइसकेका छन् ।


