काठमाडौं । काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निषेधाज्ञा लागू हुने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निणर्य गरेको हो । उपत्यकामा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका जिल्ला अधिकारीले अर्को सूचना जारी नभएसम्मको लागि उक्त निणर्य गरेको छ ।
प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खाद्यान्न र औषधिका पसलहरू बाहेक सबै बन्द गर्ने निर्देशन दिएको छ । यस अवधिमा सार्वजनिक तथा निजी सवारी साधान समेत चल्न पाउने छैनन् ।
होटल तथा रेष्टुराँहरु समेत बन्द हुनेछ । आइतबार समेको कोरोना संकट व्यवस्थापन समिति (सीसीएसी) ले तत्काल निषेधाज्ञा लागू गनुपर्ने सुझाव दिएको थियो ।
आज बिहान बसेको बैठकले कोभिड १९ संकट दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । ‘यस विषयमा गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्नु भएको थियो,’ उनले भने ‘त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो ।’
१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ । निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ । मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितको सक्रिय संख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो । ठूला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो । काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा बढी संक्रमित थपिएका थिए ।
आइतवार बसेको सीसीएमसी बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न÷गराउन पनि निर्देशन दिएको छ ।
संक्रमण बढेसँगै बाँकेमा निषेधाज्ञा जारी भइसकेको छ । त्यस्तै मकवानपुरमा समेत सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू भइसकेको छ । अत्यावश्यक सेवा भने निषेधाज्ञाबीच पनि संचालनमा आउने व्यवस्था मिलाइएको छ ।


