सोमबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिक बैठकले कोरोना भाइरस नियन्त्रणका लागि कडा व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले आफ्नो घर जान इच्छुकहरूको लागि दुई दिनको समय दिएर वैशाख १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सो अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले वैशाख १६ देखि २२ गतेसम्मको लागि काठमाडौं जिल्लाभित्र सञ्चालान गर्न पाउने र नपाउने सेवाको सूची सार्वजनिक गरेका छन् । जसमा निषेधाज्ञा भनिए पनि खुला रहने सेवाको सूची भने बन्द हुने सूचीभन्दा धेरै रहेको छ ।
प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । अर्थात् लकडाउनको समयमा पनि तरकारी बजार, किराना पसल आदि तोकिएको समयमा खुल्न पाउँछन् । यसमा केही समयको लागि मात्रै पसल खोल्दा त्यसमा भिडभाड हुने सम्भावना भने बढी हुने चिन्ता उपभोक्तामा छ । यसबाहेकका अन्य व्यवसाय भने बन्द हुनेछन् ।
यसरी बन्द हुने सूचीमा सिनेमाहल पार्टी प्यालेस स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय आदि रहेका छन् । साथै उक्त आदेशमा सबै प्रकारका सभा सम्मेलन र गोष्ठीहरू गर्न प्रतिबन्ध लगाइएको छ ।
अहिले प्रतिबन्ध लगाइएको मध्ये सिनेमाहल अहिलेपनि बन्दप्राय: छन् । उता प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार खुला हुने बस्तुको सूचीभने झनै धेरै छ । उक्त आदेश अनुसार खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला रहने बताइएको छ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।
सवारी साधनको हकमा सरकारले सरकारी कार्यालयका सबै कर्मचारीलाई हिँड्न छुट दिएको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई पनि आफ्नो कार्यालयको कार्ड देखाएर कार्यालय आउन जान दिने व्यवस्था गरिएको आदेशमा उल्लेख छ ।
आदेशमा विवाह ब्रतबन्धको हकको लागि १५ जनासम्म सहभागी हुन सक्ने व्यवस्था आदेशमा गरिएको छ । त्यसको लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र प्रशासन कार्यालयको अनुमति आवश्यक पर्ने बताइएको छ ।
अर्कोतर्फ सवारी साधनमा नै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधनहरूलाई निर्वाध सञ्चालन गर्न दिइने भएको छ भने बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् । बिरामी कुरुवाको हकमा २ जनासम्मलाई हिँडडुलको लागि अनुमति दिइएको छ ।
यसका साथै पूर्वाधार विकासको लागि सामान बोकेका र त्यसको लागि जाने मजदुरहरूलाई समेत आवतजावतको लागि पास लिएर यातायात सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएर ट्याक्सी वा निजी सवारीमा यात्रा गर्न सक्छ ।


