काठमाडौं । दुई दिनदेखि पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्ग अन्तर्गको बेनी–मालढुङ्गा सडक सोमबार राति २ बजे पहिरो झरेर अवरुद्ध भएको थियो । लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको जनाइएको छ ।
जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर अवरुद्ध सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । मङ्गलबार दिनभरि निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको बताइएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन् । सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका हुन् । मालढुङ्गा–बेनी सडकमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा खसेको पहिरो पन्छाएर अवरुद्ध भएको सडक प्रहरीले मङ्गलबार दिउँसो खुलाएपनि साँझ फेरि पहिरो झरेर सडक अवरुद्ध भएको थियो ।
त्यसैगरी वर्षपछि जिल्लाका अन्य ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास–रानीपानी सडक, लमाय–लुँखु सडक, पातीचौर–देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध छन् । सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बीच बाटोमा रोकिएको स्थानीय प्रशासनले जनाएको छ ।