काठमाडौं । औद्योगिक क्षेत्र अन्तर्गत सञ्चालित उद्योगको भाडा वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको भाडा वृद्धि विद्यमान ऐन र नियम विपरित रहेको भन्दै महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडले २०७५ सालमै ती उद्योगको भाडा ७०० प्रतिशतसम्मले बढाएको थियो । तर, कोभिड महामारीका कारण बढाइएको भाडा कार्यान्वयन स्थगित गर्दै आएको थियो । यो वर्षदेखि बढाइएको भाडा लागु गर्न लागिएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।
व्यवसायीहरुले यस्तो भाडा ५/५ वर्षमा वृद्धि गर्नुपर्ने र एकपटकमा १५ प्रतिशत मात्रै बढाउन पाउने कार्यविधि विपरित एकैपटक भारी वृद्धि गर्न लागेको आरोप लगाएका छन् ।
आन्दोलन अन्तर्गत सो पहिलो चरणमा २०७९ मंसिर २५ गते देखि महाप्रबन्धक र व्यवस्थापकको कार्यकक्षमा ताला लगाउने, आन्दोलन अवधिभर कुनैपनि शुल्क तथा रकम भुक्तानी नगर्ने, कालो व्यानर तथा कालोझण्डा प्रदर्शन गर्ने लगायत कार्यक्रम रहेका छन् ।
औद्योगिक क्षेत्रको भाडावृद्धि एकतर्फी र अन्यायपूर्ण भएको भन्दै महासंघलेसाउन ३ गते १० सुत्रीय माग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाएको थियो । २०७९ साउन १५ गते मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधि समेतको उपस्थितिमा समस्या समाधान समिति बनाएपनि काम नभएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
सो समितिले अहिलेसम्म कुनै प्रतिवेदन नै नदिएको अवस्थामा भुक्तानी गर्न ताकेतापत्र उद्योगमा पठाउने जस्ता गैरजिम्मेवार कदमले आफूहरुलाई बन्द, हडतालमा उत्रिन वाध्य बनाएको महासंघले जनाएको छ ।


