बलेवा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो ।
मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।
सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको बिहुँको अक्षेतेदेखि गलकोट नगरपालिकाको नरेठाँटी वा हटिया जोड्ने गरी सुरुङमार्ग बनाउन अध्ययन गर्न बजेट विनियोजन भएको छ ।
लोकमार्गअन्तर्गत गण्डकी प्रदेशमा पर्ने यो दोस्रो सुरुङमार्ग हो । कास्कीको फेदीदेखि पर्वतको नयाँपुलसम्म सुरुङमार्ग निर्माणका लागि आउँदो वर्ष अध्ययन गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको छ ।
काठेखोलाको अक्षतेदेखि बिहुँ घोडाबाँधेहुँदै गलकोटको हटिया निस्किन ३८ किलोमिटर यात्रा गर्नुपर्छ । नरेठाँटी पुग्न ३५ किमी दूरी छ । यहाँ सुरुङमार्ग बने झण्डै पाँच किमीको सुरुङमार्ग बन्ला भन्ने स्थानीयवासीको आकलन छ ।
भूगोलको वास्तविक अवस्था, सडक र सुरुङको दूरी तथा त्यसका लागि हुने खर्चको विवरण भने अध्ययनले तयार गर्नेछ । सुरुङमार्ग अध्ययनका विषयमा स्थानीय तह पनि सकारात्मक छन् ।
बजेटमा सुरुङमार्गको विषय प्रवेशले सर्वसाधारणमा पनि आशा जगाएको छ ।
छब्बीस वर्षअघि ट्र्याक खोल्न शुरु भएको बागलुङ–बुर्तिबाङ मध्यपहाडी लोकमार्गमा स्तरोन्नति भएपछि स्वरूप फेरिएको छ । बागलुङ बजारदेखि बुर्तिबाङ बजारसम्मको ९१ किलोमिटर दूरी छोटो बनाउन यो मार्गले सहयोग पुग्ने अपेक्षा छ ।
घोडाबाँधेबाट बुर्तिबाङसम्म कालोपत्रे भएको लामो समय बितिसक्दा समेत बागलुङ घोडाबाँधे खण्डको २७ किलोमिटर सडक कालोपत्रे छैन । सडककै अवस्था हेर्दा सुरुङमार्ग बन्छ भन्नेमा स्थानीयवासी ढुक्क भने छैनन् ।


