काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा घोषणा गरिएपछि उपत्यका छाड्नेको संख्या बढेको छ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
यात्रुको चाप बढेपछि सवारीसाधन खचाखच भरिन थालेका छन् । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताउनुभयो । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।
नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ ।
टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ देखि नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिएको अध्यक्ष कुँवरको भनाइ छ । रासस


