काठमाडौं । सरकारले न्यूनतम १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको भोलिपल्टै शेयर बजारमा हरियाली छाएको छ । हरियाली मात्रै होइन, बजारमा २ प्रतिशतभन्दा बढीको अर्थात् ६० अंकभन्दा बढीको वृद्धि भएको छ । कारोबारको ३ घण्टा बित्नै लाग्दा ३ अर्ब ५० करोडभन्दा बढीको कारोबार पनि भईसकेको छ ।
आइतबार र सोमबारको कारोबारमा नेप्से इन्डेक्स निकै घटेको थियो । बिहीबारको बजारमा कारोबार समयको अन्त्यमा २६३६ अंक रहेको नेप्से इन्डेक्स आइतबारको बजारमा २५९२ अंकमा झरेको थियो अर्थात् सो दिन करिब ४५ अंकको गिरावट बजारमा रहेको थियो । यस्तै, सोमबारको बजारमा पनि सो क्रम जारी रह्यो, नेप्से परिसूचक करिब ६० अंक घटेर २५३३ बिन्दुमा पुग्यो ।
बढ्दो दरको कोरोना संक्रमण र त्यसबाट सिर्जना हुनसक्ने लकडाउनको आशंकाले त्यसरी बजार घट्नुलाई स्वाभाविक पनि मान्न सकिन्छ । तर मंगलबारको बजारमा नयाँ दृश्य देखापरेको छ । १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा जारी भईसकेको र अन्य ठुला व्यापारिक शहरहरुमा पनि लकडाउन भईसकेको वा भईरहेको अवस्थामा बजारमा एकाएक हरियाली छाएको हो ।

वास्तवमै निषेधाज्ञा भनेको अर्थतन्त्रका लागि ठुलो चुनौतीको विषय हो तर नेपालको शेयर बजारमा भने त्यसको उल्टो प्रभाव देखाइएको छ । बजार सूचकलाई अप्रत्याशित बढाइएको छ । केही लगानीकर्ता वा बजार विश्लेषकले यस्तो प्रक्रियालाई स्वाभाविक मानेका भएपनि अधिकांशले चाहिँ यसलाई अनौठो मानेका छन् । केहीले भने यसप्रकारको हरियालीलाई पासो थापेर ढुकुर मार्ने दाउ भनेका छन् । आजको बजारलाई गतिशील बनाउनका लागि गरिएको प्रयासले पनि त्यस्तै अवस्थाको संकेत गर्दछ । बजारमा अघिल्ला केही मिनेटमा खरिदकर्ताको चाप निकै न्यून भएपछि प्रायोजित रुपमै खरिदकर्ताहरु सिर्जना गरी बजारलाई तीव्र गतिमा माथि लगिएको र बजार बढेपश्चात् सर्वसाधारण लगानीकर्ताहरुबाटै खरिद चाप बढ्न थालेपछि विस्तारै मूल्य घटाउँदै प्रायोजित खरिदकर्ताहरुले नै ठुलो परिमाणमा शेयर बिक्री गरेको देखिन्छ । यसबारेमा भने सचेत हुनु जरुरी देखिन्छ ।


