काठमाडौं । विगत केही दिनदेखि घटिरहेको शेयर बजारमा एकाएक आज ९२ अंकको सुधार आयो । आम लगानीकर्ताहरुमा शेयर बजार क््रयास नै हुन सक्ने त्रास बढिरहेको सन्दर्भमा एक्कासी बढेको बजारलाई लगानी विश्लेषकहरुले विभिन्न कोणबाट विश्लेषण गरेका छन् । केही विश्लेषकहरुले वृद्धिलाई स्वाभाविक मानेतापनि धेरैले भने असहज नै मानेका छन् ।
केही विश्लेषकहरुले आजको शेयर बजारलाई डेड क्याट बाउन्स इफेक्टका रुपमा चर्चा गरेका छन् । शेयर बजारमा कहिलेकाहीँ चर्चा हुने डेड क्याट बाउन्स पदावलीलाई केही स्वीकार त केहीले अस्वीकार गरेका छन् ।
के हो डेड क्याट बाउन्स ?
डेड क्याट बाउन्सको शाब्दिक अर्थ मरेको बिरालोको उफ्राई भन्ने हुन्छ । माथिबाट जोडसँग खसेको मरेको बिरालो केही उफ्रिएको जस्तो लागेतापनि अन्ततः त्यो भुईँमै भासिने हो भन्ने आशयमा डेड क्याट बाउन्स को प्रयोग गरिएको पाइन्छ ।
शेयर बजारमा घटेको बजारमा केही सुधार भएर पुनः घट्ने सम्भावना रहेमा त्यसलाई ‘डेड क्याट बाउन्स इफेक्ट’ मान्ने गरिन्छ । बजार घट्ने त्रासले आसक्त भएका लगानीकर्ताहरुले थोरै बजार बढ्नेबित्तिकै शेयर बेच्ने र पुनः घट्न सक्ने सम्भावना रहँदा यसको असर रहेको मानिन्छ ?
के मंगलबारको बजार वृद्धि डेड क्याट बाउन्स नै हो त ?
केही बजार विश्लेषकहरुले मंगलबारको बजारको वृद्धिलाई डेड क्याट बाउन्स नै भनी उल्लेख गरेका छन् । भावी सम्भावना र वर्तमान अवस्थाका आधारमा प्राविधिक विश्लेषण गरिँदा यस्तो लागेको हुन सक्छ ।
पछिल्लो समय अल टाइम हाई रेकर्ड कायम गरेको शेयर बजारको अवस्था, लकडाउन लम्बिएर अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भनी नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य अर्थविद्हरुबाट गरिएको चिन्ता, राजनीतिक अस्थिरताको सम्भावना र लगानीकर्ताहरुमा देखिएको त्रासको अवस्थालाई हेर्दा बजारको वृद्धिलाई डेड क्याट बाउन्स इफेक्ट नै समेत मान्न सकिन्छ ।
आजको बजारमा आएको खरिद र बिक्री चापको अवस्थालाई हेर्दा पनि त्यही अवस्थाको संकेत देखा पर्दछ तर लगानीकर्ता सचेत भएर धैर्य गर्न सकेमा एवं अवस्थामा केही सुधार भएमा चाहिँ सो इफेक्टको असर नदेखिन समेत पर्ने देखिन्छ ।


