काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कूल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७ सय ८३ जना रहेको छ ।
कतार जानका लागि १२ हजार ७ सय ४ जना, साउदीका लागि १० हजार ५ सय ७६ जना, युएईका लागि ९ हजार ७ सय ७० जना र कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि ४ सय १७ जनाले, क्रोएसियाका लागि ४ सय ७१ जनाले, जापानका लागि ८ सय ८२ जनाले, माल्टाका लागि २ सय ७० जनाले, पोल्याण्डका लागि ७ सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८ सय ४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।


