काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नपर्ने रकम ६० अर्ब नाघेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निर्माण कार्य सम्पन्न भइ बिल पेश भएका सो बराबरको रकम सरकारले भुक्तानी गर्नुपर्ने देखिएको हो । बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै महासंघले पछिल्लो महिना झण्डै १० अर्बको बिल भुक्तानी भएपनि अझै ठूलो मात्रामा भुक्तानी रोकिएको जनाएको छ ।
महासंघका अनुसार अहिले एउटै व्यवसायीको डेड अर्ब रुपैयाँ सम्मको भुक्तानी बाँकी छ । साना तथा मध्यम स्तरका व्यवसायीको समेत गरी सो बराबर बक्यौता रहेको महासंघका अध्यक्ष रवी सिंहको भनाइ छ ।
अहिले सरकार वित्तीय संकटको अवस्थामा छ । अनुमानित भन्दा निकै कम राजस्व संकलन र अपेक्षित विदेशी स्रोत नजुट्दा सरकारको प्राप्ति भन्दा खर्च बढी रहेको अवस्था छ । सरकारले खर्च कटौतीका लागि विभिन्न उपायहरु अपनाए पनि विकाश निर्माणमा हुने भुक्तानीको समस्या उस्तै छ ।
अध्यक्ष सिंहले अहिलेपनि ७० प्रतिशत भन्दा बढी निर्माण आयोजनाहरु स्रोत अभावका कारण समस्यामा रहेको बताए । उनले स्रोतको सुनिश्चितता नभएका तथा जग्गा प्राप्ति, डिपिआर, इआईए, आईईई लगायत पूर्वकार्य पुरा नभएका आयोजनाहरु फिर्ता लिनुपर्ने महासंघको माग रहेको छ ।


