images
images

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन

सदस्यका प्रत्यासी चलाउने भन्छन्, ‘महासंघलाई सरकारसँग जोड्ने सशक्त पुल बन्छु’


  • 668
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    सदस्यका प्रत्यासी चलाउने भन्छन्, ‘महासंघलाई सरकारसँग जोड्ने सशक्त पुल बन्छु’

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएट्सतर्फ कार्यसमिति सदस्य पदका उम्मेदवार हुने निराजन चलाउने । १९ जना सदस्यको पदका लागि हुन गइरहेको चुनावमा अहिले ३० जना व्यवसायी प्रतिस्पर्धामा छन् । १ हजार ७ सय ६२ मत रहेको एशोसिएट्टतर्फ १२ सय भन्दा धेरै मत ल्याएर जित्ने लक्ष्यसहित यतिबेला आफूले चुनावी अभियान अघि बढाइरहेको चलाउने बताउँछन् । 

    अछाम जिल्लामा जन्मिएका उनको स्थायी घर बर्दिया हो । अहिले भने उनी काठमाडौंमै विभिन्न व्यवसाय सञ्चालन गर्छन् । उनी नमस्ते ग्रुपका अध्यक्ष हुन् । यो ग्रुप महासंघको एशोसिएट्स सदस्यको रुपमा रहेको छ । पर्सामा रहेको यो ग्रुपले चामल, दाल लगायत खाद्यान्नको प्रशोधन तथा आपूर्तिको काम गर्दै आएको छ । 

    चलाउने कार्यसमितिमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । तर महासंघको प्रवद्र्धनमा उनको ठूलो भूमिका छ । महासंघलाई सरकारसँग जोड्नेदेखि व्यापार मेला सफल बनाउने कामसम्ममा भूमिका खेलेको भन्दै कार्यसमिति सदस्यको हैसियतमा यसलाई थप तीव्रता दिने उद्देश्यसहित आफू मैदानमा उत्रिएको उनी बताउँछन् । 

    ‘महासंघमा सबैभन्दा पेचिलो विषय भनेकै सरकारसँगको सम्बन्ध र उद्योगी व्यवसायीका मागहरुको कार्यन्वयन हो । सरकारसँग पहुँच पुर्याउनै गाह्रो र पुगे पनि मागहरुको उचित सुनुवाइ नहुने अवस्था अहिले छ’ चलाउने भन्छन्, ‘यो ग्यापलाई पूरा गर्न मैले महासंघको कार्यसमितिमा आउनुपर्छ भन्ने ठानेर उम्मेदवारी दिएको हुँ ।’

    त्यसो त, चलाउने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यसमिति सदस्य समेत हुन् । केन्द्रले देशभित्र उत्पादन हुने वस्तुको आन्तरिक तथा बाह्य क्षेत्रसम्म प्रवद्र्धनका लागि सहजीकरणको काम गर्छ । यो प्लेटफर्ममार्फत् समेत आफूले उद्योगी व्यवसायीको हितका लागि काम गरेको चलाउनेको भनाइ छ । 

    उनले आफ्नो विगतको भूमिका र प्रभाव नै आफ्नो जीतको मुख्य आधार रहेको बताउँछन् । वर्तमान अध्यक्ष शेखर गोल्छादेखि अबको अध्यक्ष चन्द्र ढकाल हुँदै वरिष्ठ उपाध्यक्ष तथा एशोसिएट्सतर्फबा सबै उपाध्यक्षहरुसँग आफ्नो राम्रो सम्बन्ध रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘योबीचमा मैले नेतृत्व तहको मात्रै नभएर साधारण सदस्यहरुसम्मकै सम्बन्ध विस्तारलाई ध्यान दिएँ । त्यसैले एशोसिएट्सका धेरै सदस्य साथीहरु मसँग उदार हुनुहुन्छ ।’

    महासंघमा अहिले प्यानलसहितको चुनावी प्रतिस्पर्धा चलिरहँदा चलाउने भने अहिलेसम्म कुनै गुटमा खुलेका छैनन् । महासंघ व्यवसायिक संस्था भएकोले गुट अस्थायी हुने भन्दै महासंघमा गुटविनै प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ । ‘सबै पक्षका साथीहरुले हाम्रो टिममा आउनुस् भन्नुभएको छ । सहयोग गर्ने बचन दिनुभएको छ । यो मेरो जितको अर्को आधार हो भन्ने लाग्छ ।’

    महासंघमा एशोसिएट्बाट सदस्य भए पनि जिल्ला र वस्तुगत संघहरुको समस्याबारे समेत आफू जानकार रहेको उनको दाबी छ । अछाम बर्दिया हुँदै काठमाडौं आएका उनले जिल्ला स्तरमा उद्योगी व्यवसायीको समस्याबारे समेत बुझेका छन् । यार्सागुम्बा संघका अध्यक्ष समेत रहेका उनी वस्तुगत क्षेत्रको सुधारका विषयमा पनि आफ्नो योगदान हुनसक्ने बताउँछन् ।

    यद्यपि उनी आफ्नो सबैभन्दा सशक्त पक्ष भनेको सरकारसँगको सम्बन्ध नै रहेको बताउँछन् । ‘महासंघ भनेको स्वार्थ समूहको प्रतिनिधिमूलक संस्था हो । उद्योगी व्यवसायीको समस्या सरकारसम्म पुर्याउने नै महासंघको काम हो,’ चलाउने भन्छन्, ‘सरकारसँगको सम्बन्धका लागि महासंघको लागि एउटा बलियो पुलको काम गर्छु । यही विश्वासका साथ साथीहरुले मलाइ अत्यधिक मत दिएर जिताउनुहुन्छ ।’


    images

    Logo