images
images

स्मार्ट मिटरका लागि विद्युत प्राधिकरणलाई डेढ लाख थान ई–सीम उपलब्ध गराउँदै टेलिकम


  • 349
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    स्मार्ट मिटरका लागि विद्युत प्राधिकरणलाई डेढ लाख थान ई–सीम उपलब्ध गराउँदै टेलिकम

    काठमाडौं । नेपाल टेलिकमले विद्युत प्राधिकरणलाई डेढ लाख थान ई–सीम उपलब्ध गराउने भएको छ । स्मार्ट मिटरका लागि प्रयोग गर्न टेलिकमले प्राधिकरणलाई उक्त सीम उपलब्ध गराउन बिहीबार  सम्झौता गरेको हो । 

    सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका छन् । 

    सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् । 

    नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुसी लागेको बताए । 

    नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ । 

    ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।


    images

    Logo