काठमाडौं । विदेशी नागरिकले अबदेखि अनलाइनबाटै लगानी स्वीकृत गराउन सक्ने भएका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७९ को पहिलो संशोधनमार्फत् सरकारले अटोमेटिक रुट प्रणालीमार्फत् भौतिक उपस्थितिविनै लगानी स्वीकृति दिने व्यवस्था गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बिहीबार राजपत्रमा सूचना जारी गर्दै उक्त प्रणाली लागु गर्ने व्यवस्था कार्यन्वयनमा लगेको छ । यो प्रणाली अन्तर्गतको सेवा प्राप्त गर्न शतप्रतिशत विदेशी लगानीको योजना हुनुपर्ने शर्त राखिएको छ । नयाँ कम्पनी तथा लगानी थप प्रयोजनका लागि अनलाइनमार्फत् यस्तो आवेदना दिनसक्ने मन्त्रालयले जनाएको छ ।
यस्तो प्रणालीमार्फत् लगानी स्वीकृतिका लागि विदेशी लगानीकर्ताले उद्योग विभागको वेवसाइटमार्फत् आवश्यक कागजातसहित आवेदन दिनु पर्नेछ । यसरी आवेदन दिइएपछि विभागले आवश्यक जाँचबुझ गरी अनलाइनबाटै स्वीकृतिपत्र पठाउनेछ । यसरी प्राप्त भएको स्वीकृतिपत्र भौतिक रुपमा प्राप्त भएसरह मानिने विभागले जनाएको छ ।
अहिले विभागले विदेशी लगानीको स्वीकृति एकल विन्दु सेवा केन्द्रमार्फत् दिँदै आएको छ । यसअन्तर्गत सेवा लिँदा एउटै विन्दुबाट सबै सेवा पाउने व्यवस्था भए पनि लगानीकर्ताले केन्द्रमै उपस्थित भएर कागजात बुझाउनुपर्ने बाध्यता थियो । यसले गर्दा विदेशी लगानीकर्ताहरुले लगानी स्वीकृतिकै लागि नेपाल आउनुपर्ने बाध्यता समेत थियो । यो व्यवस्थापछि अब विदेशी लगानीकर्ताहरु लगानी स्वीकृतिपछि मात्रै नेपाल आउनसक्ने अवस्था सिर्जना भएको छ ।


