काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ ।
एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले नौ महिनामा नै सात करोड रुपियाँभन्दा बढीको सम्पत्ति जोडेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो ठूलो दल बने पनि एमाले सबैभन्दा धनी दल रहेको छ । निर्वाचन आयोगमा बुझाइएको आय–व्ययको विवरणअनुसार सो दलको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी भने करिब ४१ करोड छ ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८३ वटा राजनीतिक दलले आय–व्ययको लेखापरीक्षण विवरण समयभित्रै बुझाएका छन् । आयोगमा कुल १ सय १६ दल दर्ता छन् ।
एमालेको असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपैयाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपैयाँ खर्च छ । कुल आम्दानीमा चलरअचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने आयोग स्रोतले बतायो । प्रतिनिधि सभामा एमालेले ७८ सिट जितेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस भने घाटामा रहेको आय–व्ययको विवरणमा जनाइएको छ । प्रतिनिधि सभामा उसको सिट सङ्ख्या ८९ छ ।
आर्थिक वर्ष २०७८र७९ सम्म सो दलले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेको छ । तर सो दलको खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपियाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम नेपाली कांग्रेसको तीन करोड ८४ हजार १३५ रुपैयाँ दायित्व छ ।
संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र भन्दा आयोगमा बुझाइएको विवरणबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने दोस्रो धनी दल हो । प्रतिनिधि सभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको आय र व्ययको विवरण दुईथरीको पाइएको छ । उक्त दलको आम्दानी नौ करोड ८६ हजार ६४ रुपियाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपैयाँ खर्च छ । यसरी सो दलको करिब एक करोड ५८ लाख मौज्दात छ । अर्कोथरीको विवरणबमोजिम ३२ लाख २१ हजार ९ सय ७१ रुपैयाँ बचत छ ।
नाम उल्लेख नगर्न अनुरोध गर्दै आयोगका एक अधिकारीले दुईथरी विवरण रहेको जानकारी दिए। माओवादी केन्द्रको ३२ सिट छ । एकीकृत समाजवादी भने एक वर्ष नपुग्दै एक करोडभन्दा बढी बचत गरेको छ। आयोगमा सो दलले बुझाएको विवरणअनुसार उसको बचत एक करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ छ।
छोटो अवधिमै एकीकृत समाजवादीले करिब सात करोड रुपियाँभन्दा बढी सम्पत्ति जोडेको छ। सङ्घीय संसद्मा प्रतिनिधित्व गरेको र मधेश प्रदेशमा लगातार दोस्रो कार्यकालका लागि नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको बचत भने अन्य दलको अपेक्षा थोरै देखिएको छ। आयोगमा बुझाएको विवरणमा सो दलको बचत ११ लाख १८ हजार ८ सय ६२ रुपैयाँ छ।
दल दर्ता गरेर छोटो अवधिमै निर्वाचनमा स्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको बचत भने थोरै छ। राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो। गत असार मसान्तसम्म एक महिनाको आय–व्ययको विवरणमा उसले चार लाख नौ हजार ७ सय ६० रुपैयाँ आम्दानी देखाएको छ। प्रतिनिधि सभामा सो दलका २१ जना सांसद छन्। जनमत पार्टीले भने एक लाख ९० हजार आम्दानी जनाउँदा ११ लाख ५० हजार खर्च देखाएको छ।


