रूकुम । कोरोना महामारीका बीच रुकुम पूर्व का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो ।
कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए ।
सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनले बताए । यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९ सम्मको परीक्षा यही वैशाखको २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख बुढाले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म कोरोनाका बिरामी खासै नदेखिएको र शैक्षिक सत्र पनि सकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नु भनेर गाउँपालिकाहरूले गरेको निर्णयमा रोकतोक नलगाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले बताए ।


