काठमाडौं । ट्विटरले नयाँ लोगो सार्वजनिक गरेको छ । सोमबार ट्विटरका मालिक एलोन मस्क र प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले सामाजिक सञ्जालको नयाँ लोगो सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल नेटवर्कको साइटले लोगोमा रहेको निलो चरालाई कालो पृष्ठभूमिमा सेतो रङ्गको ‘एक्स’ ले प्रतिस्थापन गरेको देखाएको थियो ।
‘एक्स यहाँ छ, यसको प्रयोग गरौं’, कम्पनीको सान फ्रान्सिस्को कार्यालयको लोगोमा प्रक्षेपित गरिएको फोटो पनि साझा गर्दै याकारिनोले ट्वीट गरिन् । मस्कले गतवर्ष ४४ अर्ब डलरमा ट्वीटर किनेपछि यो लोगोमा भएको दोस्रो परिवर्तन हो । केही समय अगाडि मात्रै चरालाई कुकुरको चित्रले प्रतिस्थापन गरिएको थियो । तर पछि पुनः चरालाई नै लोगोमा राखिएको थियो ।
आइतबार श्रृङ्खलावद्ध रुपमा पोस्ट गर्दै मस्कले सोमबारदेखि विश्वव्यापी परिवर्तन गर्न लागेको बताएका थिए । ‘अब हामी चाँडै नै ट्वीटर ब्रान्ड र क्रमशः सबै पक्षीहरूलाई बिदाइ गर्नेछौं’, उनले पोस्ट गरेका थिए ।
‘रूपान्तरण भनेको कम्पनीमा आफ्नो छाप बनाउनको लागि मस्कको लागि अझ सरल तरिका हो’, विज्ञापन एजेन्सी आर÷जीएका विश्वव्यापी प्रमुख रणनीति अधिकारी टम मोर्टनले भने । ‘ट्विटरको नाम र लोगोको परिवर्तन प्रयोगकर्ता, विज्ञापनदाता, वा बजार समस्याहरूसँग कुनै सरोकार छैन । ट्विटर एलोन मस्कको व्यक्तिगत सम्पत्ति हो र परिवर्तन गरेर उनले त्यही प्रष्ट पार्न खोजेका छन्’ उनले भने ।


