काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरु गरेको सार्वजनिक यातायातका चालक र सहचालकलाई ड्रेस र परिचयपत्र अनिवार्य गर्ने अभियानको विरोध भएको छ । मंगलबार नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै उक्त अभियानको विरोध गरेका हुन् ।
यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गर्दै मन्त्री प्रकाश ज्वालाले ड्रेस र परिचयपत्र नलगाउने चालक, सचालक र कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका थिए । पोशाकको मापदण्डबारे सरोकारवालाहरुसँग कुनै छलफल नै नगरि एक सामान्य कार्यक्रममा गएर निर्देशन दिएको भन्दै मजदुर संगठनहरुले विरोध गरेको हो ।
मन्त्रालयले कुनै नीति बनाउँदा र निर्णय गर्दा श्रमिकहरुको रोजगारीको सुरक्षा र दिगोपना, लगानीको संरक्षणको प्रत्याभूतितर्फ ध्यान दिनुपर्ने संगठनहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पेशालाई मर्यादित बनाउन पोशाक आवश्यक नै रहने भए देशैभर समान प्रकृतिको रहनुपर्ने, मन्त्रीले प्रालि पिच्छे तोक्न नहुने भन्ने मजदुर संगठनको ठहर छ ।
सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने हो भने पोशाक मापदण्ड मात्र पर्याप्त नहुने बरु रोजगार सम्झौता कायम गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै यातायात मजदुरहरुलाई समावेश गराउनुपर्ने, राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिक यातायात श्रमिकलाई पनि लागु गराउनुपर्ने भन्दै संगठनहरुले संयुक्त आवाज उठाएका छन् ।
साथै, जानेर दुर्घटना गरायो भन्दै चालक कुट्ने, जिउँदै नदीमा फालिने र जलाईदिने जस्ता क्रियाकलापहरु भइरहेको र त्यस्तो गतिविधि हुँदैन भनी सुरक्षाको प्रत्याभूति दिलाउन सके मात्र यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बन्न सक्ने भन्ने मजदुर संगठनहरुको धारणा रहेको छ ।


