images
images

प्राधिकरणले गर्यो हिमाली र पहाडी जिल्लाका उडानमा कडाइ


  • 459
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    प्राधिकरणले गर्यो हिमाली र पहाडी जिल्लाका उडानमा कडाइ

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । 

    आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो । 

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा साउन १४ देखि असोज दोस्रो सातासम्म दिउँसो १२ बजेपछिका उडानमा कडाइ गरेको हो । आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उडानमा कडाइ गरिएको उनले बताए । 

    “मौसमका कारण हवाई दुर्घटना हुने र अधिकांश दुर्घटना हिमाल तथा पहाडी क्षेत्रमा हुने भएकाले असोज दोस्रो सातासम्मलाई उडान सञ्चालन गर्ने समय (अपरेसन टाइम) बाहेकको समयमा उडानमा कडाइ गरिएको छ,” उनले भने, “प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिका अनुसार अहिले पहाड तथा हिमाली क्षेत्रका विमानस्थलमा उडान सञ्चालनको समय बिहान ६ देखि दिउँसो १२ बजेसम्म तोकिएको छ ।”उहाँले उडान समयमा कडिकडाई गरिएपछि एक दर्जनभन्दा बढी विमानस्थलमा दिउँसो १२ बजेपछि उडान गर्न नपाउने व्यवस्था गरिएको बताए। 

    प्रवक्ता निरौलाले दिउँसो १२ बजेपछि व्यावसायिक उडान नहुने विमानस्थलमा चार्टर उडानमा समेत रोक लगाएको जानकारी दिए । प्राधिकरणले पहाड, तराईमा रहेका रात्रिकालीन उडान सुविधा रहेका विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय फरक रहेको उल्लेख गर्दै उनले पहाड तथा तराईमा बिहान ६ देखि १२, रात्रिकालीन उडान सुविधा भएका विमानस्थलमा बिहान ६ देखि राति १२ बजेसम्म र अन्तर्राष्ट्रियतर्फ २४ घण्टा उडान समय तोकिएको जानकारी दिए । उनले तोकिएको समयपछि उडान गर्नुपर्ने भए मौसम हेरेर विमानस्थल टावर, विमानचालकसँगको सहकार्यमा मात्र उडान गर्न पाइने व्यवस्था रहेको बताए ।

    प्राधिकरणले उडानमा कडिकडाउ गरेपछि सञ्चालनमा रहेका लुक्ला, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, ताप्लेजुङ, डोल्पा, थामखर्क, बाजुरा, साँफेबगर, इलाम, गुल्मी, सल्ले, रारा, खानीडाँडा विमानस्थलमा सेप्टेम्बरसम्म दिउँसो १२ बजेपछि उडान हुने छैनन् । गत आर्थिक वर्षसम्म नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरेर ५३ वटा विमानस्थल छन् । तीमध्ये ३३ वटा विमानस्थल मात्रै सञ्चालनमा छन् भने २० वटा विमानस्थल बन्द छन् ।


    images

    Logo