काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ट्रेड यूनियन कांग्रेस (एनटीयूसी) ले ऐक्यवद्धता जनाएको छ । विद्यालय शिक्षा ऐन २०८० ले आफ्नो हकअधिकार खोसेको भन्दै महासंघले गरिरहेको आन्दोलनलाई एनटीयूसीले समर्थन जनाएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भएको भनिएको शिक्षा ऐन २०८० मा भएका केही विषयप्रति आपत्ति जनाउँदै अहिले नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गरेको छ । उक्त मस्यौदाले देश भरि कार्यरत लाखौं स्थायी, अस्थायी/करार, राहत, साविक उच्च मा.वि. शिक्षक, बाल विकास शिक्षा, शिक्षण सिकाई अनुदान शिक्षक, प्राविधिक धार लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मागमुद्धाहरुको न्यायोचित सम्बोधन गर्न नसक्ने भन्दै महासंघले आन्दोलन सुरु गरेको हो ।
साथै २०७५ साल तथा त्यसपछि स्थायी भई कार्यरत शिक्षकहरुलाई पेन्सन प्रयोजनमा यस मस्यौदाले थप अन्यौल र अन्याय थपेको भनी महासंघको भनाइ छ । उक्त धारणाप्रति ट्रेड यूनियन सम्वद्ध छाता संस्था एनटीयूसीले समर्थन जनाएको हो । सरोकारवाला पक्षहरुसँग छलफल गरि विद्यालय शिक्षा ऐन संसोधन सहित संसदमा पेश गर्न एनटीयूसीले माग गरेको छ ।


