काठमाडौं । स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारवाही गरेको छ । विभागको स्वीकृति बिना सामाजिक सञ्जालको प्रयोग गरि नेपाली नागरिकलाई विदेश पठाइदिन्छु भनी राहदानी संकलन गरेको भन्दै विभागले कारवाही गरेको हो ।
विभागले क्यापिटल रिक्रुटमेन्ट सर्भिसेज र इगल म्यानपावर कन्सल्टेन्टलाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विभागबाट इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था छ । सोही व्यवस्थाको उल्लङ्घन गरेका कारण विभागले ती दुई कम्पनीलाई कारवाही गरेको हो ।
त्यसैगरी, ऐनको व्यवस्थाविपरीत सामाजिक सञ्जालमा वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन प्रकाशन गरी भ्रम सिर्जना गर्ने ललितपुरस्थित सुयान एजुकेसन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमाथि अनुसन्धान गरिरहेको विभागले जनाएको छ ।
विभागले वैदेशिक रोजगारीमा जान इच्छुकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।



