images
images

नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने


  • 472
    SHARES
  • २०८० भाद्र ३ गते आइतबार

    नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने

    काठमाडौँ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो ।

    ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिए । 

    उनले भने, “यसअघि चक्रपथको सो खण्डलाई कोटेश्वर–कलङ्की जस्तै विस्तार मात्र गर्ने सहमति भए पनि बढ्दै गएको सवारी चाप तथा मानवीय आवागमनलाई ध्यानमा राख्दै ‘अन्डरपास’ समेत निर्माण गरिदिन प्रस्ताव गरिएकोमा चिनियाँ पक्षले त्यसमा सहमति जनाएको हो ।” 

    उनका अनुसार केही दिनअघि नेपालका लागि चीनका राजदूतलगायतको टोलीले ‘अन्डरपास’ निर्माण गरिने ठाउँको अवलोकन गरेको थियो । त्यसपछि सो कार्यका लागि नेपाल र चीनबिच सो सहमति भएको हो । 

    यसअघि चीनले चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलङ्की १०.३९ किमी) आठ लेनमा विस्तार गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख डा। विजय जैशीले चक्रपथ विस्तारका लागि अहिले चिनियाँ पक्षले ‘अन्डरपास’ सहितको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिरहेको जानकारी दिँदै भने । 

    महाशाखा प्रमुख डा। जैशीका अनुसार बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिर सार्ने तर स्वयम्भू क्षेत्रका संरचना नभत्काउने गरी नयाँ ‘डिपिआर’ तयार गर्ने सहमति भएको हो ।

    उनले नयाँ ‘डिपिआर’ बनेर मन्त्रालयलाई हस्तान्तरण गरेपछि स्वीकृत गरेर मात्र चक्रपथको विस्तार तथा ‘अन्डरपास’ निर्माण सुरु हुने बताए । 


    images

    Logo