काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा विद्रोह भएको छ । संस्थागत हित, पारदर्शिता र सदस्यहरुको संरक्षणमा काम गर्न नसकेको भन्दै राजेन्द्र गुप्ता नेतृत्वको नयाँ कार्यसमिति गठन भएको हो । पेट्रोलियम व्यवसायी संघ नेपाल नामक नयाँ संस्था आधिकारिक रुपमा दर्ता भइ साउन ३१ गतेदेखि सञ्चालनमा आएको हो । सो संस्थामा आत्माराम थापा महासचिव छन् ।
आइतबार संघले पत्रकार सम्मेलन गर्दै यसअघिको एशोसिएसनले सदस्यहरुको आवश्यकता सम्बोधन नगरेको आरोप लगाउँदै नयाँ संघ गठन भएदेखि नै अर्को संघले गर्न नसकेको कार्यको सुरुवात गरेको दाबी गरेको छ । खासगरी मार्गस्थल बीमाको नाममा एशोसिएसनले गर्दै आएको अनियमितता हटाएको संघको दाबी छ ।
यसअघि मार्गस्थलमा हुने बीमाको नाममा एशोसिएसनले रकम उठाउँदै आएको थियो । यस्तो रकम बीमा कम्पनीले तोकेको भन्दा बढी उठाइने गरेको तथा तिरेको रकमो बिल बिजक समेत व्यवसायीलाई दिने नगरिएको संघको आरोप छ । नयाँ संघ क्रियाशील भएसँगै साउन ३१ देखि नै व्यवसायीकै नाममा भ्याट बिलसहित तोकिएको महशुलमा बीमा गराउन सुरु गर्दै एशोसिएसनका पदाधिकारी र बीमा कम्पनीबीचको मिलेमतो अन्त्य गरिएको दाबी गरेको छ ।
संघका सदस्यहरु ढुवानीकर्ताले प्रत्येक पटक डिपोबाट ढुवानी गर्दा व्यवसायीकै नाममा प्रत्येक चलान अनुसार व्यवसायीकै नाममा नेको इन्स्योरेन्सबाट बीमा हुने व्यवस्था गरिएको संघको भनाइ छ । यसले चिटकटो बीमा दाबीमा देखिँदै आएको समस्या समाधान हुने संघको दाबी छ । यसपछि अब बीमाबापतको खर्चलाई व्यवसायीले खर्चको रुपमा देखाउनसक्ने भएकोले लेखापरीक्षण सहज हुने समेत संघले प्रेस विज्ञप्तीमार्फत् दाबी गरेको छ ।


