काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्क लाइन महशुलसम्बन्धी विवादमा उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसँगको भेटपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गर्दै उनले महशुल विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न भनेका हुन् ।
दाहालले यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पु¥याउने कुरामा आफूले पहल गर्ने आश्वासन समेत दिएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।

महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको ढकालको भनाइ छ । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,’ महासंघ अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन भनेर हामीले प्रधानमन्त्रीसँग कुरा राख्यौं।’
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।


