images
images

तस्करी बढ्दै गर्दा सुनमा आयात कोटा थप्दै सरकार


  • 816
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    तस्करी बढ्दै गर्दा सुनमा आयात कोटा थप्दै सरकार

    काठमाडौं । सुन तस्करी सम्बन्धी घटनाहरु सार्वजनिक हुँदै गर्दा सरकारले सुन आयातमा रहँदै आएको प्रतिदिन १० किलोको सीमा बढाउने तयारी गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघ लगायत सरोकारवालाहरुको सुझावका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालको कोटालाई दोब्बर पार्ने निर्णय गरेको हो । 

    आयात बढाउनेबारे वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि राष्ट्र बैंकको निर्देशन आवश्यक भएकोले कोटा बढाउन राष्ट्र बैंकलाई पत्र समेत पठाइसकेको जनाइएको छ । 

    हाल नेपालमा दैनिक १० किलोमात्रै सुन आयात गर्न पाइन्छ । यस्तो सुन वाणिज्य बैंकहरुले आयात गर्ने गर्दछन् । सुन चाँदी व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट सुन खरिद गरेर बजारमा बिक्री गर्छन् । चाडबाड नजिकिँदै जाँदा सुनको माग बढ्ने र आयात नबढाउँदा अवैध सुन कारोबार हुनसक्ने अवस्थालाई समेत ध्यान दिँदै यो निर्णय लिइएको हो । 

    त्यसो त चाडबाडको सिजनमा यसअघि पनि सुन आयातको कोटा बढाइँदै आएको थियो । हाल सामान्य अवस्थामा दैनिक १५ किलो र चाडबाडको सिजनमा दैनिक ३५ किलोसम्म सुनको माग हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोही कारण आयात थप्नुपर्ने महासंघको तर्क छ । यद्यपि बैंकहरुले आयत गरेका सुन पनि सधैं बिक्री नहुने अवस्था समेत छ । यसरी बैंकमा सुन थुप्रिनुमा पनि तस्करी गरेको सुन बजारमा बिक्री भइरहेको हुनसक्ने सरकारी पक्षको आशंका छ । 


    images

    Logo