काठमाडौं । श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷८९ देखि लागु हुनेगरी श्रमिकको पारिश्रमिक बढेको हो ।
अहिले मासिक रुपमा पारिश्रमिक लिने श्रमिकको ज्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ थियो । त्यसलाई बढाएर १५ हजार पुर्याइएको छ ।
त्यस्तै, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको पारिश्रमिक रु ५ सय १७ रहेकोमा यसलाई बढाएर बढेर ५ सय ७७ रुपैयाँ पुर्याइएको छ । त्यस्तै, प्रतिघण्टा दरमा काम गर्ने श्रमिकको पारिश्रमिक अहिले ६९ रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षदेखि ७७ रुपैयाँ बनाइएको छ ।
१३२ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन् । उनले पारिश्रमिक निर्धारण श्रमिक र रोजगारदाताका प्रतिनिधिहरुबीच हुनुपर्ने भए पनि सहमति नभएपछि हस्तक्षेप गरिएको बताए ।
यद्यपि बढेको उक्त ज्यालादरप्रति श्रमिकहरुले असन्तुष्टि जनाएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले प्रधानमन्त्रीको उक्त घोषणाप्रति असहमति जनाएको छ ।


