काठमाडौँ । नेपालबाट आर्थिक वर्ष २०७९/८० मा ५४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ ।
नेपालबाट पहिलो पटक २०७०/७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात भएको थियो । पछिल्लो समय नेपालको पानी भुटान, भारत, हङकङ, अस्ट्रेलिया, चीन, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा निर्यात हुन थालेको छ । भन्सार विभागका अनुसार, ०७८÷७९ मा ३० करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । यसअघि ८ वर्षमा ६ करोड ५० लाख १९ हजारको पानी निर्यात भएको तथ्यांक छ ।
नेपालबाट रसुवा पानी, हिमालयन अन टप, किन्ली, अक्वा फिनालगायत पानी निर्यात हुने गरेको बताइएको छ । भारत, बंगलादेश, चीन, कोरियालगायत मुलुकबाट पानीको माग भए पनि पर्याप्त मात्रामा उत्पादन गर्न नसकिएको उदोगीहरु बताउँछन् । त्यसैगरी खाडी राष्ट्रबाट पनि पानीको धेरै माग आउँन थालेपछि व्यवसायीहरु उतसाहित भएका छन् ।
ब्राजिलपछि नेपाल ताजा पानीमा दोस्रो धनी देश मानिएपनि नेपालले हालसम्म त्यसको फाइदा लिन सकेको छैन । सन् २०१८ मा कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइन, ओमान, कुवेतलगायत मध्यपूर्वका देशले १७ करोड २३ लाख डलर बराबरको १८ करोड ३८ लाख लिटर बोतलबन्द पानी आयात गरेका थिए । हिमालयको पानी ती देशले उच्च कोटीमा राखेकाले पानी निर्यातको सम्भावना बढ्दै गएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।


