काठमाडौं । नजिकिँदो चाडपर्वका लागि सरकारले यो वर्ष पनि सहुलियतमा बजार सञ्चालन गर्ने तयारी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड का अनुसार दशैं, तिहार, छठ जस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्नका लागि आवश्यक बजेटको तयारी पूरा भएको छ । यी पसलहरूले दशैं पर्वका लागि विशेष गरी खसी, बोका र च्याङ्ग्रा तथा अन्य उपभोग्य वस्तुहरु छुट मूल्यसहित बिक्री गर्नेछन् ।
यस वर्ष दशैं मासु बजारमा ३ हजार खसीबोका खरिद गरी बजार हस्तक्षेप गर्ने योजना छ । यसका लागि कुल ८ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।कम्पनीको प्रस्तावित बजेट मन्त्रालयमा पेस गरिने र यसबारे छिट्टै निर्णय हुने कम्पनीले जनाएको छ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि साल्ट ट्रेडिङ र डेरी विकास संस्थान जस्ता संस्थालाई समावेश गरी देशभर एकीकृत सहुलियतयुक्त बजार सञ्चालनका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिनेछ ।
यी पसलहरूमा अत्यावश्यक खाद्यवस्तु सहुलियतमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका साथै उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा खाद्यान्न पसल स्थापना गरिनेछ ।साल्ट ट्रेडिङले देशव्यापी रूपमा ३८ स्थानहरूमा सहुलियत पसलहरू स्थापना गर्ने बताइसकेको छ ।


