काठमाडौं । नाडा अटो शो २०२३ सकिएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयाजनामा गत मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको अटो शो आइतबार औपचारिक रुपमा सकिएको हो ।
उक्त शोमा ७६ हजार १ सय जनाले अवलोकन गरेको नाडाले जनाएको छ । यो अपेक्षाभन्दा उत्साहजनक रहेको समेत जनाइएको छ ।
प्रदर्शनीमा १६ ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको थियो ।शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका थिए ।
नाडाका अध्यक्ष ध्रुव थापाले तीन वर्षपछि आयोजना गरिएको शोमा देखिएको सहभागिता तथा ब्राण्डप्रतिको रुचि निकै उत्साहजनक रहेको बताए । सुस्ताएको अटो बजार माथि उकास्न यो सहयोगी हुने उनका भनाइ छ ।
शोमा भएका अवलोकनले नजिकिँदो चाडपर्वको अवसरमा उपभोक्ताले गर्ने नयाँ सवारी खरिदमा सहयोग गरेको भन्दै उनले यसले बजार चलायमान बनाउन सहयोग हुने बताए । अटो शोमा विद्युतीय सवारी (ईभी) मा अवलोकनकर्ताको आकर्षण थियो । बुकिङको हिसाबले समेत यस्ता सवारीमै बढी रुचि देखिएको व्यवसायीहरुको भनाइ छ ।


