images
images

कृषि विकास बैंकले ‘घर–घरमा डाक्टर’ को बैंकिङ कारोबार गर्ने


  • 434
    SHARES
  • २०८० आश्विन २ गते मंगलबार

    कृषि विकास बैंकले ‘घर–घरमा डाक्टर’ को बैंकिङ कारोबार गर्ने

    काठमाडौं । कृषि विकास बैंकले ‘घर–घरमा डाक्टर प्रा.लि.’ सँगको सहकार्यमा बैंकिङ कारोबार गर्ने भएको छ । रोग निदान तथा प्रतिरक्षाका लागि सरसल्लाह सहितको उपचारको प्रबन्ध गर्ने सो संस्थाका ग्राहकको बैंक खाता सञ्चालन गर्दै पाँच लाख रुपैयाँको दुर्घटना बीमा सुविधा प्रदान गर्नेगरी बैंक र उक्त संस्थाबीच समझदारी भएको हो । साथै सो संस्थाका ग्राहकलाई बैंकले तोकिएको सीमासम्म बिनाधितो ऋण समेत दिनेछ ।

    घर–घरमा डाक्टर प्रा.लि.का अध्यक्ष हेमा जीसी र कृषि विकास बैंकका उप–महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    सम्झौता पत्र आदन–प्रदान गर्दै घर–घरमा डाक्टर प्रा.लि.का अध्यक्ष जीसीले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्वन्धमा परामर्श तथा उपचार पद्धतीका सम्बन्धमा सचेतना अभिवृद्धी गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने कुरा व्यक्त गरिन् ।

    कृषि विकास बैंकसँग कारोवार गर्दा थप गौरव महशुस गर्दै आजको सरकारी बैंक अन्य निजी क्षेत्रका बैंकभन्दा अब्बल रहेको र बैंकिङ कारोवार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंकसँग बैंकिङ कारोवार गर्न घर–घरमा डाक्टर प्रा.लि. तत्पर रहेको कुरा उल्लेख गरिन् ।

    कृषि विकास बैंकका उप–महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले घर–घरमा डाक्टर प्रालिका देशभरी रहेका सेवाग्राही, कम्पनीका कर्मचारीको तलब, वचत खातालगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोवारसमेत बैंकले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक सधैं ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

    बैंकिङ बजारमा सरकारी बैंकको कारोबारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको बैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्वन्धलाई थप मजबुत बनाई दिगो प्रभावकारी कारोवार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    यो सम्झौतामा बैंकले घर–घरमा डाक्टर प्रालिका सेवाग्राहीहरुको ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमासहितको बैंक खाता खोल्ने छ भने घर–घरमा डाक्टर प्रा.लि.का कर्मचारीहरुका लागि बिनाधितो कर्जा दिनेछ । यसबाहेक तलब खातामा बैंकका विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेछ ।

    घर–घरमा डाक्टर प्रालिले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

    सम्झौता समारोहमा बैंकका ब्राण्ड एम्बेसडर कलाकार जितु नेपाल, बैंकको मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख वीना शर्मा, सेन्ट्रल अपरेशन विभागका विभागीय प्रमुख मीनराज पोखरेल लगायत घर–घरमा डाक्टर प्रालिका कर्मचारीहरु र बैंकको मार्केटिङ तथा सेल्स विभागका कर्मचारीहरुको उपस्थिति थियो ।


    images

    Logo