images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक


  • 771
    SHARES
  • २०८० आश्विन ६ गते शनिबार

    गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण बिहीबार सार्वजनिक भएको छ । गएको वैखाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख अन्तिममा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

    मन्त्रिपरिषदको मंगलबारको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्नेसहितका निर्णय गरेको थियो । गण्डकी प्रदेशमा मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको दुई महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने आचारसंहिता छ । सबैजसो मन्त्रीहरुको सम्पत्तिको स्रोत पैतृक, व्यवसाय, सेयर देखाएका छन् । 

    मुख्यमन्त्री पाण्डेको गोरखा र काठमाडौंमा घर छ । गोरखाको पालुङटार –१, खोप्लाङ स्थायी ठेगानामा उनको पाँच रोपनीभित्र घर र जग्गा छ । दुवैतिरका घर उनका पैत्रिक सम्पत्ति हुन् । कपिलवस्तु र भक्तपुरमा उनको नाममा थप जग्गा छन् । सम्पत्ति विवरणमा उनीसँग ४२ तोला सुन, पाँचसय तोला चाँदी र २ सेट हिरा रहेको उल्लेख छ । 

    मुख्यमन्त्रीको बैंक मौज्दात २४ लाख ९६ हजार र उनकी पत्नी विनाको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । सरकारकी प्रवक्तासमेत रहेकी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको नाममा स्याङ्जा र कपिलवस्तुका विभिन्न ठाउँमा जग्गा देखिन्छ । 

    उनले ९५ लाख ऋण रहेको विवरणमा देखाएकी छिन् । अर्यालसँग नगद २३ लाख, सुन २२ तोला र चाँदी ४० तोला देखिन्छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको म्याग्दीको मालिका गाउँपालिकामा दुई वटा घर छन् ।  उनीसँग ट्याक्टर, स्काभेटर र मोटरसाइकल छन् । मन्त्री जुग्जालीले ६० लाख ऋण देखाएका छन् ।

    सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले नवलपुरको गैंडाकोटमा जग्गा, श्रीमान्को नाममा जुम्लाको तातोपानीमा पुख्र्यौली घर, सम्पत्ति रहेको र ललितपुर गोदावरीमा जग्गा रहेको विवरण देखाएकी छिन् । 

    कृषि तथा भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको छ । नवलपुर सुस्तापूर्व बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गरेका छन् । 

    कृषिमन्त्री जिसीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उनले पैतृक नै भएको बताएका छन् । जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पत्ति विवरण बुझाएका छन् । स्वआर्जनबाट जिसीले एउटा ट्याक्टर खरिद गरेको उल्लेख गरेका छन् । 

    गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले स्थायी ठेगाना भीमाद –६, तनहुँ हो । उनको आफ्नै र सगोलमा गरी भिमादमा ३० कित्ता जग्गा देखिन्छ भने ३४ लाख ७० हजार ऋण रहेको विवरणमा उल्लेख छ । उनीसँग २१ तोला सुन र २७ तोला चाँदी छ । आलेसँग ३३ हजारमा किनेको लाइसेन्ससहित १२ बोर बन्दुक पनि रहेको छ ।

    यस्तै, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापासँग बागलुङमा घरजग्गा र कास्कीमा दुई कित्ता जग्गा छ । उनले ३७ लाख रुपैयाँ देखाएका छन् । विवरणअनुसार उनीसँग साढे ११ लाखमा किनेको ट्याक्टरसमेत छ । 


    images

    Logo