काठमाडौं । कम्पनी दर्ता गर्दा अब कुनै पनि शूल्क नलाग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता गर्दा र पूँजी वृद्धि गर्दा शूल्क तिर्नु नपर्ने व्यवस्था गरेको हो ।
चालु आवको बजेटमा सरकारले कम्पनी संस्थापना गर्दा कर छुटका अतिरिक्त न्युनतम १०० रुपैयाँमै कम्पनी खोल्न पाउने व्यवस्था गरेको थियो । बजेटमा उल्लेख गरिएको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न मन्त्रालयले २०८०/८१ मा कुनै पनि कम्पनी दर्ता गर्दा शूल्क तिर्नु नपर्ने सुविधा दिएको हो ।
कम्पनी ऐन २०६३ बमोजिम कुनैपनि प्राइभेट वा पब्लिक कम्पनी स्थापना गर्दा र दर्ता भइसकेका कम्पनीको पूँजी वृद्धि गर्दा शूल्क तथा दस्तुर नलाग्ने सूचनामा जनाइएको छ । त्यस्तै, कम्पनीको शेयर संरचनामा हेरफेर गर्न समेत शूल्क नलाग्ने जनाइएको छ ।
त्यस्तै, विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्न पनि शूल्क लाग्ने छैन । साथै, मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना गर्दासमेत शूल्क नलाग्ने सूचनामा उल्लेख गरिएको छ ।
यसअघि कति लाग्थ्यो ?
यसअघि कम्पनी दर्ता गर्दा १ लाखसम्म पुँजीको कम्पनी भएमा १ हजार रुपैयाँ दर्ता शुल्क लाग्थ्यो । त्यस्तै, ९ लाखको पुँजी भएमा ४ हजार ५ सय रुपैयाँ, २५ लाखकोे पुँजी भएमा ९ हजार ५ सय रुपैयाँ र १ करोड रुपैयाँ पुँजी भएमा १६ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्थ्यो । करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीको हकमा प्रत्येक एक करोडमा थप ३ हजार रुपैयाँ दर्ता शुल्क बढ्दै जान्थ्यो । मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्दा १५ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।


