काठमाडौं । दशैं सकिएसँगै व्यवसायीहरु तिहारको तयारीमा जुटेका छन् । खासगरी फूलको व्यापार बढी हुने तिहारका लागि पुष्प व्यवसायीहरुले तयारी थालेका हुन् । फूलको बिक्री तथा फूल तथा नर्सरीबारे जानकारी र प्रचारप्रसार समेत गर्ने उद्देश्यले व्यवसायीहरुले मेला आयोजनाको तयारी थालेका छन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले कात्तिक १४ देखि १८ गतेसम्म १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्दैछ । उक्त मेला जाउलाखेल मैदानमा आयोजना हुनेछ । मेलामा ६० वटाभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
त्यस्तै, नर्सरी व्यवसायी संघले यही कात्तिक १४ देखि १८ गतेसम्म तिहार फ्लोरा एक्सपो आयोजना गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा ५८ वटा स्टल रहनेछन् । मेलामा फूल खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आर्थिक वर्ष २०७९८० सम्म नेपालका ४८ जिल्लाका २२१ हेक्टरमा व्यवसायिक फूल खेती भएको फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल फ्यानको तथ्यांक छ । यसबाट करिब ४४ हजारले रोजगारी पाएका छन् । हाल नेपालमा पुष्प व्यवसायीको संख्या एक हजार भन्दा बढी रहेको अनुमान गरिएको छ ।
नेपालमा अघिल्लो आर्थिक वर्षसम्म करिब ३ अर्बको फूल कारोबार भएको थियो । कोभिडका कारण मन्दीमा पुगेको पुष्प व्यवसायले फेरि रिकभरी गर्दै सो बराबरको कारोबार गरेको हो । यो वर्ष यस्तो कारोबारमा २० प्रतिशत वृद्धि हुनसक्ने व्यवसायीको अनुमान छ ।
गतवर्ष नेपालमा ३३ करोडको फूल आयात भएको थियो भने करिब ६८ लाख रुपैयाँको फूल निर्यात भएको थियो । नेपालमा हुने खुद आयात कुल कारोबार रकमको करिब ११ प्रतिशत हो ।
तिहारमा हुने मखमली, सयपत्री तथा गोदावरी फूलको कारोबारले भने वार्षिक कारोबारको करिब २० प्रतिशत मात्रै हिस्सा ओगट्ने गरेको छ । गत वर्ष तिहारमा करिब ६१ करोड बराबरको यस्तो कारोबार भएको थियो ।


