काठमाडौं । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि हालसम्म नेपालमा १ करोड भन्दा बढी डोज खोप भित्रिएको छ । शनिबार जापानबाट ३ लाख डोज एक्स्ट्राजेनिका खोप आइपुगेसँगै यो संख्या १ करोड ७ लाख ७२ हजार डोज पुगेको हो । शुक्रबारमात्रै भुटानबाट एक्स्ट्राजेनिकाकै ३ लाख डोज खोप नेपाल आएको थियो ।
यसअघि नेपालमा ९७ लाख डोज खोप भित्रिइसकेको छ । यसरी भित्रिएको खोपमा ५८ लाख डोज भेरोसेल, २४ लाख ४८ हजार डोज कोभिशिल्ड र १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप रहेका थिए ।
नेपालले सबैभन्दा पहिले भारतबाट १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा प्राप्त गरेको थियो । त्यसपछि नेपालले भारतको सेरम इन्सिच्युटसँग २० लाख डोज खोप खरिदको लागि भुक्तानी दिएको थियो । तर, सेरमले हालसम्म १० लाख डोज खोप मात्रै उपलब्ध गराएको छ ।
त्यसबाहेक कोभ्याक्स योजना अन्तर्गत नेपालले थप ३ लाख ४८ हजार डोज खोप निशुल्क प्राप्त गरेको थियो भने भारत सरकारले नेपाली सेनाका लागि थप १ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
भेरोसेल खोप अन्तर्गत हालसम्म आएको ५८ लाख डोज खोपमध्ये १८ लाख डोज खोप अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको हो भने ४० लाख डोज खोप खरिद गरिएको हो ।
उता अमेरिकाबाट प्राप्त भएको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप पनि कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा प्राप्त भएको हो । यो खोप एक डोज मात्रै लगाए हुने खालको यो भ्याक्सिनले त्यति नै जनसंख्यालाई खोप लगाउन पुग्छ ।
भारतबाट खोप आउन नसकेपछि एउटै फर्मुला प्रयोग गरेर बनाइएको एक्स्ट्राजेनिका खोप ल्याउन थालिएको हो । भुटानले दिएको ३ लाख डोज खोप पछि फिर्ता गर्नुपर्ने शर्तमा लिइएको हो भने जापानले दिएको ३ लाख खोप पनि कोभ्याक्स कार्यक्रम अन्तर्गतकै हो ।
यो हिसाबले अहिलेसम्म नेपालले प्राप्त गरेका खोपमध्ये ५० लाख डोज खोप खरिद गरेर ल्याइएको हो । ३ लाख डोज खोप पैंचोस्वरुप आएकोले पछि फिर्ता गर्नुपर्छ भने बाँकी रहेको करिब ५२ लाख ७२ हजार डोज खोप भने प्रत्यक्ष अनुदान तथा कोभ्यास सुविधा अन्तर्गत नेपाल आएका हुन् ।
क–कसले पाए खोप ?
पहिलो चरणमा भारतले दिएको खोप स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीलाई दिइएको थियो । फ्रन्टलाइनमा खटिने उक्त कर्मचारीलाई खोप दिँदा करिब ४५ प्रतिशतले मात्रै खोप लगाएका थिए । त्यसपछि ६५ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाई सो दिइएको थियो ।
पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीले दोस्रो डोज समेत पाइसको छन् । तर ६५ वर्ष भन्दा बढी उमेर समूह भएका नागरिकहरुले अझै पनि दोस्रो डोज खोप पाएनन् ।
भारतबाट कोभिशिल्ड खोपमा समस्या आएपछि तात्कालिन केपी ओली नेतृत्वको सरकारले चीनसँगको खोप खरिद प्रक्रिया अघि बढाएको थियो । यसअन्तर्गत ४० लाख डोज खोप नन–डिस्क्लोजर एग्रिमेन्ट अन्तर्गत खरिद गरिएको हो । यो खोप आउन सुरु भएपछि ५५ देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई यो खोप दिइएको थियो ।
त्यसबाहेक विभिन्न प्राथमिकतामा परेका क्षेत्रहरु विश्वविद्यालय तथा शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारी, यातायात व्यवसायी र यसअघि खोप दिएर पनि लगाउन छुटेका प्राथामिकताप्राप्त क्षेत्रका व्यक्तिलाई खोप लगाइएको थियो ।
भेरोसेल खोप कार्यक्रम जारी रहँदा अमेरिकाबाट जोन्सन एण्ड जोन्सन खोप नेपाल भित्रियो । सरकारले यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई नागरिकलाई दिने निर्णय गरेको थियो । यो उमेर समूहका १३ लाख बाहेक अपांग तथा नेपालमा बस्ने विदेशी शरणार्थीलाई यो खोप दिइएको छ ।
६५ वर्षमाथिकालाई ४ महिनापछि दोस्रो डोज
भारतले दिएको समयमा पहिलो डोज कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकले बल्ल दोस्रो चरणको खोप पाउने भएका छन् । ६५ वर्ष भन्दा माथि उमेर समूहका करिब ४ महिनापछि दोस्रो डोजको खोप पाउने भएका हुन् ।
भुटान र जापानबाट १० लाख डोज एक्स्ट्राजेनिका खोप नेपाल भित्रिएसँगै सो खोप दोस्रो डोज अन्तर्गत दिन लागिएको हो । एक्स्ट्राजेनिका र कोभिशिल्ड खोप एउटै भएका कारण एउटाको परिपूरकमा उक्त खोप दिन लागिएको हो ।
५० वर्षमुनिका सर्वसाधारण अझै बाँकी
हालसम्म आएको खोपबाट ५९ लाख ५८ हजार ८ सय ५० जनालाई खोप लगाउन पुग्ने अवस्था छ । प्राथमिकता प्राप्त क्षेत्रमा कमा गर्ने कर्मचारी बाहेक यो खोप ५० वर्षभन्दा माथिल्लो उमेर समूहको लागि मात्रै हो ।
नेपालमा करिब ३ करोड जनसंख्या रहेको अनुमान गरिएको छ । सबै नेपालीलाई खोप हो पुर्याउने लक्ष्य लिएको सरकारका लागि अहिलेसम्मको काम २० प्रतिशत मात्रै हो । अझै ८० प्रतिशत नेपालीमा खोपको पहुँच पुर्याउनुपर्ने चुनौती सरकारलाई छ । बाँकी एक्स्ट्राजेनिका, भेरोसेल, माेर्डना र फाइजरका खोपहरु ल्याउने तयारी गरेको छ ।
कहाँ कहाँबाट हुँदैछ खोप ल्याउने तयारी ?
अहिले नेपालले भेरोसेल, मोर्डना, फाइजर र एक्स्ट्राजेनिकाका खोपहरु ल्याउने तयारी गरिसकेको छ । चीनसँग ६० लाख डोज खोपका लागि सम्झौता भइसकेको छ भने एक डोज मात्रै लाए हुने मोर्डना नामक अमेरिकी खोप ४० लाख डोज ल्याउन भुक्तानी गरिसकिएको छ ।
त्यसबाहेक जोन्सन एण्ड जोन्सनको थप ५० लाख, फाइजरको १८ वर्षभन्दा माथि उमेर समूहका लागि ४० लाख तथा १२ देखि १८ वर्ष उमेर समूहका लागि ६० लाख समेत गरी १ करोड डोज खोप ल्याउने प्रक्रिया थालिएको छ । त्यस्तै, एक्स्ट्राजेनिकाको २० लाख डोज खोपका लागि प्रक्रिया अघि बढिसकेको छ ।
फाइजर, एक्स्ट्राजेनिका र भेरोसेल २ डोज लगाउने भ्याक्सिन हुन् भने जोन्सन एण्ड जोन्सन, फाइजर र मोर्डना एक डोज मात्रै लगाउने भ्याक्सिन हुन् ।


सम्झना बरुवाल
