images
images

दशैंले रोकिएन वैदेशिक रोजगारी, असोजमा  झन् धेरै बिदेसिए


  • 485
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    दशैंले रोकिएन वैदेशिक रोजगारी, असोजमा  झन् धेरै बिदेसिए

    काठमाडौं । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युुवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५  जना  श्रम  स्वीकृति  लिएर  बिदेसिए,  भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत  नेपाल  आएर चाडपर्व  मनाउने  बेलामा रोजगारीको खोजीमा दसैँको मुखमा बिदेसिन धेरै युवा बाध्य  छन्  ।

    स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । 

    ढिला गरे भिसाको  समय  सकिने  डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गइरहेका छन् । चालु आवको असोजमा  वैदेशिक  रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो । 

    यसै गरी गत आवको साउन, भदौ र असोजमा दुुई लाख दुुई हजार बिदेसिएकामा चालु आवको पहिलो तीन महिनामा यो सङ्ख्या एक लाख ६२ हजार ९०४ जनामा झरेको छ । सो अवधिमा श्रम स्वीकृति लिएर विदेश गएकामध्ये एक लाख ४१ हजार ४४५ जना पुरुष र २१ हजार ४५९ जना महिला रहेका छन् । गत आवको  पहिलो  तीन  महिनामा  रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक महेश दाहालले पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा सङ्कुचन  आएसँगै  गत  वर्षको  सो  अवधिमा  भन्दा  रोजगारीका  लागि  विदेश  जानेको सङ्ख्या घटेको देखिए पनि बिदेसिने क्रम भने नरोकिएको बताए । 


    images
    images

    Logo