images
images

‘बोनसको लोभ देखाएर मात्रै अब बीमा बजार चल्न सक्दैन’


  • 788
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    ‘बोनसको लोभ देखाएर मात्रै अब बीमा बजार चल्न सक्दैन’

    नेपाली बीमा क्षेत्र अहिले धेरै अघि बढिसकेको छ । बीमा कम्पनीहरुको संख्या, शाखा सञ्जाल र बीमा क्षेत्रबारे आम जनताको बुझाई बढ्दै जाँदा बीमा बजारको पहुँच बढ्दै गएको छ । तर, बीमाका समग्र आयाममा यति ठूलो परिवर्तन आउँदा पनि हाम्रो बीमा पोलिसीहरु भने पुरानै शैलीबाट आएका छन् । 

    अहिले पनि सबै बीमा कम्पनीले ल्याएका बीमा पोलिसीहरु बोनसमा आधारित छन् । धेरै बोनस देखाएर बीमितलाई लोभ्याउने पुरानो प्रवृत्ति अहिले उस्तै छ । बीमा पोलिसी बिक्री गर्नकै लागि बीमितलाई गलत सूचना दिने र भ्रममा पार्ने काम हुने समेत गरेको पाइन्छ । 

    बोनसमा आधारित बीमा पोलिसी भनेको ‘पुस सेल’ गर्ने पोलिसी हो । यस्तो पोलिसीमा बीमित आफैंले चाहेर बीमा पोलिसी किन्ने अवस्था हुँदैन । बीमा कम्पनी वा अभिकर्ताहरुले बोनसको लोभ देखाए पोलिसी बेच्ने अवस्था सधैं रहिरहन्छ । यसले एकातिर बीमा क्षेत्र विश्वसनीय बन्न सक्दैन भने अर्कोतिर बीमितले आफूले चाहेको बीमासम्बन्धी पोलिसी किन्नसक्ने अवस्था छैन । 

    हामी अहिले पनि त्यही अवस्थामा छौं । बीमित आफैंले चाहेर पोलिसी किन्ने प्रोडक्ट हामीले दिन सकेका छैनौं । तर, पुरानै ढर्रामा अब बीमा बजार चल्न सक्दैन । बीमाको तरिका र प्रडक्टहरू परिमार्जन गर्नुपर्ने अवस्था आइसकेको छ । यस्तो तरिकाको स्वरुप नै बदल्नुपर्ने अवस्था आइसकेको छ । यो भनेको जोखिममा आधारित बीमा पोलिसी निर्माण गर्ने हो । 

    अहिले विश्वको बीमा बजारले यस्तै पोलिसीलाई आत्मसात गरिसकेको छ । त्यस्ता प्रोडक्टहरुले मानव जीवनमा हरेक जोखिमलाई एकीकृत रुपमा बहन गर्ने क्षमता राख्छ । तर, नेपाली बजारमा त्यसो हुन सकेको छैन । बजारमा १९ वटा जीवनबीमा कम्पनी छन्, तर सबैको प्रोडक्ट लगभग उस्तै छ । नयाँ इनोभेटिम पोलिसीको डिजाइन हुन नै सकेको छैन । ती पोलिसीहरु सीमित जोखिमलाई बहन गर्ने खालका मात्रै छन्, जसमा आम जनता आकर्षित हुन सकिरहेका छैनन् ।

    अब हामीले बीमालेख तयार गर्दा मान विश्वमा सफल भइसकेका र मानव जीवनका हरेक जोखिमलाई सम्बोधन गर्ने खालको बीमालेखबारे सोच्नुपर्छ । यसले अहिलेको बीमा गर्ने शैलीलाई परिमार्जन गर्दै जनता आफैं बीमा गर्न आउने अवस्था सिर्जना हुन्छ । 

    पछिल्लो समय प्रविधिको प्रयोग बढ्दो छ । अवको ५ वर्षमा सूचना प्रविधिले कति फड्को मार्छ त्यो अहिले आकलन गर्न सक्ने अवस्था छैन । त्यसैले समयअनुसार नयाँ तरिकाबाट चल्न सक्नुपर्छ । डिजिटल प्रविधिको सहयोगमा काम गर्न सकियो भने मात्रै यो क्षेत्र अग्रपङ्तीमा रहिरहन सक्छ ।

    (कुराकानीमा आधारित)


    विवेक झा
    जीवनबीमा क्षेत्रमा विज्ञ झा नेपाल लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।


    images

    Logo